इटहरीः चिर प्रतिद्वन्द्वी विभागीय टिम नेपाल पुलिस क्लब र लिग लिडर मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी होडको प्रवेशका लागि आज भिड्दैछन् ।
२०७५ को सिजनमा ३ पटक आमनेसामने भएका यी २ टोली इटहरीको मैदानमा आफ्नो प्रतिष्ठाका लागि भिड्दैछन् । मनाङमाथि १–० को जीत निकाल्दै दमक गोल्डकपको उपाधी चुमेर सिजन शुरुवात गरेको पुलिस टिमका लागि त्यस समयमा रेजिन सुब्बा निर्णायक बनेका थिए ।
शहीद स्मारक लिगमा पुलिस टिमबाट खेलेका सुब्बा अहिले सो टिममा छैनन् । इटहरी गोल्डकपमा रेजिनले डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टारबाट सहभागिता जनाए । लामो समयपछि भएको शहीद स्मारक लिगमा मनाङले १० आँै चरणको खेलमा पुलिसमाथि १–० को जीत निकालेको थियो ।
केही साता अघिमात्र देशकै सर्वाधिक राशीको तेस्रो खप्तड गोल्डकपको क्वाटरफाइनलमा निरकुमार राई नायक बन्दा मनाङ चालु सिजनमा दोस्रो पटक पुलिससँग पराजित बनेको थियो । मनाङमाथि जीत निकालेको टिम पुलिस प्रतियोगिताको च्याम्पियन समेत बन्यो ।
तेस्रो पटक हार जीतको अङ्कगणित बराबर गर्न मनाङलाई आजको खेल जित्नैपर्ने दबाब छ । युवा खेलाडीले भरिएको पुलिसले अविशेक रिजाल प्रेरित क्वाटरफाइनल खेलमा पाहुना टोली सीएफसी भुटानलाई २–० ले हराएको थियो । मनाङले भने आयोजकलाई २–१ ले हराएको थियो । मनाङ आफ्नो नियमित ११ खेलाडीमा राष्ट्रिय टोलीका ६ जना खेलाडी लिएर उत्रिएको छ भने पुलिससँग राष्ट्रिय टिमबाट खेलेको अनुभव भएका खेलाडी छैनन् ।
मनाङको नेतृत्व राष्ट्रिय टिमका कप्तान विराज महर्जनले गरिरहँदा पुलिस टिमलाई मोरङकै विक्रम धिमालले गर्नेछन् । मनाङमा कप्तान विराजसँगै सुजल श्रेष्ठ, कमल श्रेष्ठ, हेमन गुरुङ, अञ्जन विष्ट र गोलरक्षक विशाल श्रेष्ठसँग राष्ट्रिय टिममा खेलेको अनुभव छ ।
पुलिस क्लबले यसअघि अविशेकसँगै रवि पासवान, निरकुमार राई, तीर्थ राना, तेज तामाङ, सन्तोष हेमरन, गोलरक्षक शत्रुघन चौधरी लगायतका खेलाडीलाई पहिलो ११ मा उतारेको थियो ।
गत संस्करणको उपविजेता समेत रहेको मनाङका प्रशिक्षक फुजा टोपेले आक्रामक रणनीतिका साथ मैदान उत्रने तयारी रहेको बताए । ‘हाम्रो खेल सधैँ आक्रामक नै हुन्छ । त्यसलाई हामी पुलिसविरुद्ध पनि निरन्तरता दिनेछौँ,’ उनले भने ।
मनाङले गत महिनामात्र राष्ट्रिय लिगसँगै भारतको प्रतिष्ठित गभर्नर्स गोल्डकपको ३८ औँ संस्करणको उपाधी जित्दा पुलिसको पोल्टामा खप्तड गोल्डकप तेस्रो संस्करणको उपाधी छ । आजको खेललाई प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको छ ।