विराटनगरः महिला साफ च्याम्पियनसिपका लागि विराटनगर महानगरले गृहकार्य थालेको छ । राजधानी बाहिर विराटनगरमा पहिलो पटक हुन लागेको साफ फुटबल प्रतियोगिताको खेल स्थल शहीद रंगशाला र त्यस आसपासको बाटोलाई ब्यवस्थित गर्न महानगरपालिका लागिपरेको हो ।
साफ च्याम्पियनसिपकै लागि विराटनगर महानगरका मेयर भीम पराजुलीले बुधवार वेलुका मूख्यमन्त्री शेरधन राइ सहितको छलफल कार्यक्रम समेत गरेका छन् । मूख्यमन्त्री संमिलित छलफलमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा ,प्रमुख जिल्ला अधिकारी रमेश केसी र खेलकुदसंग सम्वध सरोकारवालाहरु संग छलफल गरिएको छ ।
साफ च्याम्पियनसिप सफल बनाउन विराटनगर महानगरले १ करोड २१ लाख खर्चिने भएको छ । यसमा पनि २५ लाख रकम अपुग हुने छलफलमा बताएको थियो । सो अपुग रकम प्रदेश सरकारले बेहोर्ने मुख्यमन्त्री राइले आश्वासन दिए । साफ गेम सफल बनाउन हरतरहले लागेको मेयर भीम पराजुलीले बताए । उनले रंगशालामा जोडिएको ड्रेसिङ रुम लगायत पार्किङ स्थल सवै व्यवस्थित बनाउन लागिएको कार्यक्रममा जानकारी दिए ।