इटहरीः अफ्रिकी खेलाडी अफिज ओलावाले प्रेरित खेलमा जीत हासिल गर्दै मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोश्रो पटक फाइनलमा पुगेको छ । गत संस्करणमा समेत उपविजेता बनेको मनाङका ओलावालेले ४३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

हेमन गुरुङको क्रस पासमा पुलिसका गोलरक्षक शत्रुघन चौधरीलाई विट गराउँदै ओलावालले जाली चुमाएका थिए । दोस्रो हाफमा पुलिस फर्कने प्रयास गरे पनि सफल हुन सकेन । दुवै टिमले आक्रामक सुरुवात गरेका थिए । पहिलो हाफमा अविशेक रिजालको कडा प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बाहिर पठाइदिएका थिए । मनबहादुर परियारले मनाङको डिफेन्सिङ लाइन चिर्दै गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

तुलनात्मक रूपमा मनाङले बढी पोष्ट आक्रमण गर्दै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । २९ आँै मिनेटमा सुजल श्रेष्ठको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । त्यसलगत्तै सुजलको हेडर क्रसलाई आसिफ मोहम्मदले सदुपयोग गर्न सकेनन् । ३८ औँ मिनेटमा अन्जन विष्टको क्रसमा सुजलले हानेको हेडरले पोष्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा मनाङमाथि दबाब सिर्जना गरे पनि पुलिसले गोल गर्न सकेन । १८ औँ मिनेटमा बिमल राना ‘वान भर्सेस वान’मा गोल गर्न चुके । रानाको प्रहार पुलिसका डिफेन्सले ब्लक गरिदिएका थिए । २० औँ मिनेटमा काउन्टरको अवसर सदुपयोग भएन ।

ad khel

२९ औँ मिनेटमा ओलावालेको प्रहार गोलरक्षक विट भइसकेको अवस्थामा डिफेन्सले गोललाइन नजिकैबाट ‘क्लियर’ गरिदिएका थिए । पुलिसका केही राम्रा अवसरलाई गोलरक्षक विशालले बचाएका थिए । खेलको अतिरिक्त समयमा ३० यार्ड नजिकै पाएको एउटा अवसरलाई रेफ्रीले नदिएपछि पुलिस सेमीफाइनलबाट बाहिरिएको थियो ।

मनाङ अब शनिबार हुने फाइनलमा आर्मीसँग भिड्नेछ । मनाङ गत संस्करणको फाइनलमा थ्री स्टारसँग पराजित बन्दै उपविजेतामा सीमित भएको थियो ।

खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । पाएका अवसर सदुपयोग नहुँदा पराजित बनेको उनले बताए । अन्तिममा डिबक्स नजिकै पाएको हेण्डबललाई रेफ्रीले नदिँदा त्यही नै गेमको ट्रनिङ पोइन्ट भएको बताए ।

यता, मनाङका प्रशिक्षक फुजा टोपेले खेल अपेक्षा अनुरूप नै भएको प्रतिक्रिया दिए । उनले आफ्नो रणनीतिमा सफल भएको बताए । आगामी खेलमा समेत सधैँ झैँ आक्रामक नै रणनीति नै अपनाइने उनले बताए ।

सेमीफाइनल खेलमा नियमित कप्तान विराज महर्जनको बेन्च रहँदा डिफेन्समा प्रवेश दनुवारलाई खेलाएका टोपेले उनको (प्रवेश) गृह मैदानमा अवसर दिएको बताए । ‘विराजमा सामान्य समस्या समेत देखियो र नयाँ केटालाई उसको मैदानमा अवसर दिएँ,’ टोपेले भने ।

जीतसँगै मनाङले हारजीतको अङ्कगणित बराबर गरेको छ । २०७५ को सिजनमा ४ पटक आमनेसामने भएका टोलीले २÷२ जीत निकालेका छन । दमक गोल्डकप र खप्तडमा नतिजा पुलिसको पक्षमा थियो भने मनाङले शहीद स्मारक लिग र मदन भण्डारीमा जीत निकाल्न सफल भयो ।