इटहरीः इटहरीमा जारी मदन भण्डारी स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधीका लागि मनाङ मस्र्याङ्दी र विभागीय टिम त्रिभुवन आर्मी भिड्दैछन् । इटहरीको प्रस्तावित रंगशालामा हुने खेलको उपाधी जित्नेमा क्लबहरूको आ–आफ्नो दाबी छ ।

प्रि–म्याच कन्फरेन्समा बोल्दै मनाङका कप्तान सुजल श्रेष्ठले विपक्षी टिम निकै बलियो रहेकाले जीतको सम्भावना बराबर रहेको बताए । उनले भने, ‘फाइनल हो जीतहारको सम्भावना बराबर छ । आर्मीले पनि दाबेदार टोलीलाई हराएर फाइनल पुगेको हो । ५०\५० को अवस्था छ ।’ तयारी राम्रो भएको उनले बताए । यसअघिका खेलहरूमा अधिकांश ‘मिसपास’ भएकाले फाइनलमा त्यसलाई कम गर्ने रणनीति रहने उनले बताए ।

यता, प्रशिक्षक फुजा टोपेले आर्मीसँग पटकपटक भिडेकाले उनीहरूको बारेमा जानकारी रहेको बताए । ‘आर्मीसँग भिड्न लागेको पहिलो पटक होइन,’ उनले भने, ‘उनीहरू कसरी खेल्छन् भन्ने हामीलाई जानकारी छ ।’ मनाङ आफ्नो पुरानो आक्रामक रणनीतिमा मैदान उत्रने टोपेले बताए ।

आर्मीका कप्तान भरत खवासले नियमित टिमका खेलाडीहरूको इन्जुरीका कारण मदन भण्डारी गोल्डकपमा अपेक्षाअनुरूप प्रदर्शन नभए पनि युवा खेलाडीहरूको भरमा फाइनल पुगेको बताए । विपक्षी टिमको बारेमा जानकार नै रहेकाले नयाँ रणनीति केही नरहेको उनले बताए ।

ad khel

फाइनल पुग्नु नै सफलता भएकाले उपाधी जित्नेमा विश्वास रहेको खवासको धारणा थियो । विभागीय टिमलाई दर्शकको सर्मथन किन आउँदैन भन्ने प्रश्नमा खवासले भने, ‘सर्मथन आइदिँदा चाहिँ राम्रो हो । तर हामी समर्थनभन्दा पनि खेलमा केन्द्रित हुनेछौँ । कसरी उपाधी जित्ने भन्ने नै हाम्रो फोकस हुनेछ ।’

प्रशिक्षक चुनबहादुर थापाले इटहरी रंगशालाको खेलमैदान तुलनात्मक रूपमा सहज नै रहेकाले जीत निकाल्ने सम्भवना रहेको बताए । उनले भने, ‘मैदान अप्ठ्यारो हुँदा हामीलाई मात्र होइन विपक्षीलाई पनि अप्ठ्यारो हुन्छ । त्यसैले खेलमैदानले दुवै टिमको खेललाई बराबर निर्धारण गर्छ ।’

मनाङ मस्र्याङ्दी क्लब सम्भवतः नियमित कप्तान विराज महर्जन बिना मैदान उत्रनेछ । विराज काठमाडौं प्रस्थान गरिसकेका छन् । उनी खेल्ने वा नखेल्ने भन्ने निक्र्योल भइनसकेको प्रशिक्षक टोपेले प्रि–म्याच कन्फरेन्समा बताए ।

जारी २०७५ को सिजनमा मनाङले राष्ट्रिय लिगसँगै भारतको ३८ औ प्रतिष्ठित गभर्नर्स गोल्डकपको उपाधी जितेको छ भने आर्मीले वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधी आफ्नो पोल्टामा पारेको छ । मदन भण्डारीको गत संस्करणमा मनाङ उपविजेता भएको थियो ।