सङ्खुवासभाः खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा सभापोखरी गाउँपालिकालाई २५–१३, २५–२० र २५– १४ गरी ३–० को सोझो सेटमा हराउँदै षडानन्दले उपाधी चुमेको हो ।

उपाधी कब्जा गरेसँगै षडानन्द नगरपालिकाले नगद १ लाख ३४ हजार नगदसहित रनिङ शिल्ड, पदक र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको सभापोखरी गाउँपालिकाले नगद ६७ हजारसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

षडानन्द नगरपालिकाले सेमीफाइनलमा मकालु गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो भने सभापोखरी गाउँपालिका भने सेमीफाइनलमा पाँचखपन नगरपालिकालाई ३–२ को सेटमा हराउँदै फाइनल पुगेको थियो ।

यता, क्वाटरफाइनल खेलमा षडानन्द नगरपालिकाले भोटखोला गाउँपालिकालाई र सभापोखरी गाउँपालिकाले खाँदबारी नगरपालिकालाई पराजित गर्दै सेमीफाइनलमा पुगेका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी षडानन्दका प्रदीप श्रेष्ठ, अनुशासित टिम मकालु गाउँपालिका घोषित भए । उत्कृष्ट डिफेन्डर पाँचखपन नगरपालिकाका सन्देश राई, उत्कृष्ट लिफ्टर षडानन्दका दमन उदास र उत्कृष्ट स्पाइकर सभापोखरी गाउँपालिकाका भवनी बाह्रकोटी घोषित भएका छन् ।

खाँदबारी नगरपालिकाका प्रथम मेयर स्वर्गीय किरण शाक्यको सम्झना तथा खाँदबारी नगरपालिकाको स्थापना दिवसको अवसरमा भएको खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा सङ्खुवासभाका १० र भोजपुरका २ वटा स्थानीय तहको सहभागिता रहेको थियो । प्रतियोगितामा फाइनल प्रवेश गरेकाबाहेक सेमीफाइनलमा प्रवेश गरेका अन्य २ टिमलार्ई जनही ३३ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र दिइएको थियो ।