धरान/ साउन ६ गतेदेखि आयोजना भएको १० दिने रियो समर फुटबल ट्रेनिङ क्याम्पमा आयोजकले डेढ सय विद्यार्थीको अपेक्षा गरेको थियो । तर, सहभागी २ सय भन्दा बढी भए ।

सहभागी संख्याले आयोजक धरान फुटबल फ्यान क्लब खुशी हुनु त स्वाभाविकै हो । झन् छात्राहरूको उल्लेख्य सहभागिताले आयोजक थप उत्साहित बन्यो । मंगलबार सम्पन्न भएको क्याम्पमा २ सय ३९ जना विद्यार्थीहरू सहभागी थिए । त्यसमध्ये आधा त छात्राहरू थिए ।

‘हामीले सोचेको भन्दा बढी सहभागी भए, यसले धेरै उत्साह दिलाएको छ,’ क्लबका अध्यक्ष अशोक राईले भने, ‘फुटबलका भविष्यका स्टारहरू देखेर ज्यादै खुशी पनि छौं ।’ गर्मी बिदाको सदुपयोग गर्ने तथा फुटबलका प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले पनि समर क्याम्प आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजक क्लबले साउन ६ गतेदेखि १५ गतेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको १ नम्बर खेलमैदानमा प्रशिक्षण आयोजना गरेको थियो । सहभागीहरूलाई महिला र पुरुषको यु १२, यु १४ र १४ वर्षमाथिको उमेर समूह बनाएर प्रशिक्षण गराइएको क्लबका महासचिव रामकृष्ण खड्काले बताए । प्रशिक्षणमा सहभागीको खेलस्तर हेरेर ३ जनालाई छनोट गरी उत्कृष्ट प्रशिक्षार्थीको पुरस्कार पनि दिइएको थियो । प्रशिक्षक र अफिसियलहरूले सहभागीहरूको खेल प्रदर्शन हेरेर उत्कृष्ट खेलाडी छनोट गरेका थिए ।

सहभागीमध्ये यु १२ बाट लिवर्टी रेसिडेन्सियल स्कुलकी प्रियंका मगर र इम्मानुयल स्कुलका रोशन मगराती उत्कृष्ट छनोट भए । यु १४ मा इम्मानुयल स्कुलकै मिहाङ राई उत्कृष्ट ठहरिए । उनीहरूलाई प्रमुख अतिथि एवं धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले पुरस्कार प्रदान गरेकी थिइन् ।

कार्यवाहक प्रमुख भण्डारीले यस्ता प्रशिक्षणहरूले सानो उमेर र स्कुलस्तरबाट नै प्रतिभाशाली खेलाडीहरू उत्पादन र पहिचान हुने धारणा राख्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् । स्थानीय सरकारले खेलाडीको प्रोत्साहनको लागि पूर्वाधार र खेल गतिविधिमा लगानी बढाउने बताइन् । क्याम्पका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी हेम गुरुङका अनुसार सहभागी विद्यार्थीहरूमा धेरै प्रतिभाशाली पनि छन् ।

जसले मौका पाएमा भविष्यमा राम्रो प्रदर्शन गर्न सक्नेछन् । क्याम्प समापन समारोहमा आयोजक क्लबले सुनसरी जिल्ला महिला फुटबल टिमलाई सहयोगस्वरूप फुटबल हस्तान्तरण गरेको थियो ।