झापाः युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति लोक सेवा आयोगमार्फत् नियुक्ति गरिने बताएका छन् ।
जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित सुखानी शहीद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । खेल क्षेत्र भनेको नजिकका व्यक्तिलाई जागिर दिने थलो बन्दै आएकाले अब खेल क्षेत्र व्यवस्थित बनाइने उनले बताए ।
आफूले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि कर्मचारी नियुक्ति हुँदै आएको स्मरण गर्दै मन्त्री विश्वकर्माले १० महिनायता नियुक्ति नदिइएको र अब प्रक्रिया पु¥याएर मात्र दिइने स्पष्ट पारे ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि खेलसँग सम्बद्ध सङ्घबीचको विवाद टुङ्ग्याएर सङ्घलाई एक ढिक्का बनाइने तथा विभाजित सङ्घका खेलाडीलाई प्रतियोगितामा सामेल नगराइने उनले बताए ।