झापाः बुद्धिचालका पूर्व नेपाल च्याम्पियन सिएम भुपेन्द्र निरौला नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापा (एनएमसी) मेची युमा झापा जिल्लास्तरीय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता २०७५ को झापा च्यम्पियन बनेका छन् ।

सातौँ चरणको खेलसम्ममा १ हजार ८ सय ८३ रेटिङका निरौलाले ६ खेल जित्दै आफूलाई अग्रस्थानमा कायम राखेका थिए । तेस्रो चरणमा १ हजार ४ सय ९३ रेटिङका लोकसागर साँवालाई जित्न उनलाई हम्मे परेको थियो । सो चरणमा साँवा र निरौलाबीचको खेल बराबरी भएको थियो ।

आइतबार सम्पन्न सातौँ चरणको खेल सम्पन्न हुँदा साढे ६ अङ्कसहित निरौला झापा च्याम्पियन हुँदै नगद १५ हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र हात पारे । निरौलाले ५८ चालमा कालो गोटीका विक्रम सिङ्घकलाई सजिलै पराजित गरे । यसैगरी, ६ अङ्कसहित दोस्रो १ हजार ९ सय ५ रेटिङ खेलाडी प्रकाश नेपालले नगद १० हजार, तथा १ हजार ८ सय ८१ रेटिङका राजन सुवेदी साढे ५ अङ्कसहित तेस्रो भए । उनलाई नगद ८ हजार रुपैयाँसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरियो ।

५ अङ्कसहित शीर्ष चौथो स्थानमा रहेका १ हजार ४ सय ९३ रेटिङका लोकसागर साँवाले नगद ६ हजार, पाँचौ स्थानका अनरेडेट खेलाडी प्रदीप थापाले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । थापाले ५ अङ्क प्राप्त गरेका थिए । १ हजार ९ सय ९७ रेटिङका ज्वाला इम्ब्रुङले ५ अङ्कसहित प्रतियोगिताको शीर्ष छैटौँ स्थान हासिल गर्दै नगद ४ हजार, १ हजार ५ सय ५२ का विक्रम सिघंकले ५ अङ्सहित सातौँ भएर नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र जिते ।

१ हजार ५ सय ९ रेटिङका भरत तामाङ ५ अंकसहित प्रतियोगिताको आठौ, अनरेटेड खेलाडी हस्त तामाङ ५ अंकसहित नवौ स्थान र १ हजार ७ सय ७० रेटिङका वशन्त लामा शीर्ष दशौं स्थान पुग्न सफल भए । उनीहरूले क्रमस ३ हजार ३ हजार, २ हजार र १ हजार ५ सय नगदसहित प्रमाण पत्र प्राप्त गरे ।