पथरीः आगामी माघ २५ गते नगर खेलकुद विकास समितिको आयोजनामा मोरङको पथरीमा प्रथम वडास्तरीय नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।

वडा नम्वर १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा नगरका १० वडाको सहभागीता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

सुनझोडा सिमसारमा नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी खेलसम्बन्धी जानकारी दिएको हो । प्रतियोगितामा प्रथम हुने वडाले नगद ३० हजार र दोस्रो हुनेले १५ हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र पाउने बताइएको छ ।
खेलकुद विकास समितिका अध्यक्ष मणि लुम्फुवा लिम्बूका अनुसार प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्समेन, उत्कृष्ट फिल्डर, उदीयमान खेलाडी र म्यान अफ दी सिरिज समेत पुरस्कृत हुने भएका छन् । उनीहरूलाई नगद र ट्रफी दिइने लिम्बूले बताए ।

प्रत्येक खेलका म्यान अफ दी म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको पहिलो खेल वडा नम्वर ४ र ३ बीच माघ २५ गते बिहान ८ हुने भएको छ ।

ट्वान्टी फर्मेटमा खेलाइने खेलको अनुमानित खर्च १ लाख ४५ हजार रुपैयाँ रहेको आयोजकको भनाइ छ । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्बर १ ले यो खेलको संयोजन गरेको हो । वडा नम्बर १ का रत्न युथ क्लब, पथरीशनिश्चरे क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लबले प्रतियोगितालाई सह संयोजन गर्ने भएका छन् ।

नगरबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वर्षभर विभिन्न खेल प्रतियोगिता गर्ने योजनाका साथ क्रिकेट प्रतियोगिताको आयोजना गरिएको आयोजकका सचिव नैन राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ४५ हजार बजेट तय गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई थप रौनक बनाउन र क्रिकेट खेलको चासो बढाउन वाउण्ड्री बाहिर आउने बललाई एक हातले समात्ने दर्शकलाई ३ सय र दुवै हातले समात्नेलाई १ सय ५० रुपैयाँ पुरस्कार प्रदान गरिने लिम्बूले बताए ।