विराटनगरः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच भएको सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका प्रफुल्ल वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताको रकम भने खुलाइएको छैन । सम्झौतासँगै विराटनगरले श्री एयरलायन्स विराटनगरको नामबाट डीपीएल खेल्नेछ ।

भारतीय खेलाडी अनुबन्धित
यस्तै, विराटनगर किंग्सले विदेशी खेलाडीका रूपमा भारतका प्रथम श्रेणीका क्रिकेटर अविनाश यादव र शिवकान्त शुक्लालाई अनुबन्ध गरेको जनाएको छ । यादव देब्रे हाते स्पिनर र शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् ।

विराटनगर किंग्सका रणनीतिक खेलाडी करण केसी रहेका छन् । उक्त संस्करणको डीपीएल यही माघ २६ गतेदेखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा विराटनगर किंग्ससहित धनगढी स्टार्स, सीवाइसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेनले प्रतिस्पर्धा गर्ने छन् ।

विराटनगर किंग्सबाट कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो, आसिफ शेख, राजेश पुलामी मगर, मोहम्मद संसाद शेख, पृथु बास्कोटा, हरिशङ्कर साह, सुशन भारी श्रेष्ठ, अमृत गुरुङ, तृतराज दास, शिवकान्त शुक्लालगायत खेलाडी रहेका छन् । यसअघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरमा पारसले यस वर्षको डीपीएल नखेल्ने जनाएपछि करणले कप्तानी सम्हाल्न लागेका हुन् ।