इटहरीः धरान रंगशालामा आज भव्य समारोहका बीच २१ औ संस्करणको बुढासुब्बा गोल्डकप शुरु हुँदैछ । उद्घाटन खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
१९ औं संस्करणको उपविजेता सीएमजी संकटाले झापाली टोली मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरको सामना गर्दैछ । बुढासुब्बा गोल्डकपमा यी २ टोली पहिलो पटक भिड्न लागेका हुन् ।
संकटा शहीद स्मारक लिगको दोस्रो स्थानको टोली हो भने काँकडभिट्टा देशका विभिन्न प्रतिष्ठित गोल्डकप प्रतियोगितामा सहभागिता जनाइरहेको छ । १९ औं संस्करणको गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको मेची नेत्रालय रुपन्देही फुटबल क्लबसँग टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित भएको थियो ।
सोही संस्करणमा विभागीय टिम एपिएफलाई १–० ले हराउँदै विजयी बनेको संकटाले मेची नेत्रालयलाई हराएको रुपन्देहीमाथि २–१ को जीत निकाल्दै फाइनल पुगेको थियो । फाइनलमा संकटालाई विभागीय टिम नेपाल पुलिसले सडन डेथमा हराउँदै उपाधी जितेको थियो ।
२० औं संस्करणमा समेत काँकडभिट्टा पहिलो खेलमै पराजित बन्यो । पुलिस क्लबले काँकडभिट्टामाथि २–० को जीत निकाल्दा संकटाले मनाङ मस्र्याङ्दीमाथि १–० ले जीत निकालेको थियो । सेमीफाइनल खेलमा पुलिससँग २–१ ले पराजित बन्दा दोस्रो पटक फाइनल पुग्ने संकटाको सपना अधुरो नै रहेको थियो ।
लिगमा समेत थ्रीस्टार, आर्मी, पुलिसजस्ता टिमलाई पछी पार्दै संकटा मनाङपछि दोस्रो स्थानमा रहेको थियो । सल्यान खड्गीको प्रशिक्षणमा संकटा क्लब रहेको छ भने पूर्व ए डिभिजन खेलाडी मीन बस्नेतको प्रशिक्षणमा काँकडभिट्टा रहेको छ ।
माघ १९ गते सम्पन्न मदन भण्डारी आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकपको सेमीफाइनलसम्म काँकडभिट्टाले यात्रा तय गरेको थियो भने संकटा चालु सिजनमा पहिलो पटक प्रदेश नं १ को प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
बुढासुब्बा गोल्डकपमा तेस्रो पटक सहभागिता जनाएको काँकडभिट्टा पहिलो जीतको खोजीमा रहँदा संकटा धरानको मैदानमा आफ्नो फर्मलाई कायम राख्न जीतको लक्ष्यका साथ मैदान उत्रनेछ । विजेता टिमले आगामी फागुन १ गते हुने सेमीफाइनल खेलमा मनाङ मस्र्याङ्दी र क्यामरुनी टिम डाउफिन्स फेमिली क्लबको विजेतासँग खेल्नेछ ।