झापाः झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आजदेखि ‘प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की’ प्रतियोगिता शुरु हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा नेपाल हक्की सङ्घले मेची अञ्चलमै पहिलो पटक उक्त प्रतियोगिता गर्न लागेको हो । यसअघि विराटनगरमा विसं २०४५ मा पहिलो पटक राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना गरिएको थियो ।
ओझेलमा परेको हक्की खेललाई प्रोत्साहन गर्नुका साथै प्रदेशस्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको नेपाल हक्की सङ्घका सचिव रञ्जन थापाले बताए ।
आजदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यो प्रतियोगितामा कर्णाली प्रदेशबाहेक छ प्रदेश र नेपाल आर्मीको एउटा विभागीय टोलीले सहभागिता जनाउने प्रतियोगिताका संयोजक थापाले बताए । प्रतियोगिता सम्पन्न गर्न रु २० लाख खर्च हुने आयोजकको अनुमान छ ।