सङ्खुवासभाः सङ्खुवासभा खेलकुद क्षेत्रमा अब्बल नरहे पनि विकासक्रम तीव्र छ । पछिल्लो समय विभिन्न विधाका भएका थुप्रै प्रतियोगिता यसका उदाहरण हुन् ।

जिल्ला खेलकुद विकास समितिको तथ्याङ्कमा एक वर्षमा भलिबलका ३, ब्याडमिन्टनका ३ र फुटबलका ७ वटा प्रदेशस्तरीय ठूला प्रतियोगिता जिल्लामा सञ्चालन हुने गरेका छन् । जिल्लास्तरीय तथा पालिका र वडा स्तरीय प्रतियोगिता सयौँको सङ्ख्यामा सञ्चालित छन् । जिल्ला खेलकुद समितिमा १७ वटा खेल सम्बद्ध क्लब आबद्ध छन् भने खेलकुद विकासका लागि गठन गरिएका विभिन्न विधाका ११ ओटा सङ्घहरू आबद्ध छन् । तर १७ क्लबमध्ये निरन्तर प्रतियोगिता सञ्चालन गर्ने एड्भान्स क्लब मानेभञ्ज्याङ, खाँदबारी युथ क्लब, मिर्मिरे युवा क्लब तामाफोक, लोहोरुङ क्लब पाङ्मा र हाङ्थुम क्लब मादी रहेका छन् ।

एड्भान्स क्लब मानेभञ्ज्याङ जिल्लाको निकै पुरानो र दरिलो क्लब मानिन्छ । २०४९ मा स्थापित यस क्लबले स्थापनाकालदेखि अरुण कपको रूपमा फुटबल प्रतियोगिता शुरु गरेको थियो । जिल्ला फुटबल सङ्घ सङ्खुवासभाले २०६८÷०६९ मा सी डिभिजन रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ । जसमा एड्भान्स क्लब विजेता भएर बी डिभिजनमा प्रवेश गरेको थियो ।

त्यसयता २०६४ देखि अरुण कपलाई बृहत्तर बनाउँदै अरुण भ्याल्ली रनिङ कप नामाकरण गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । गत वर्ष कपको सातौँ संस्करणमा सर्वाधिक १ लाख ५० हजार रुपैयाँ राशीको प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरेको थियो । १८ लाख खर्च गरिएको यो प्रतियोगिता सङ्खुवासभाको मुख्य प्रतियोगिता हो ।

जिल्लामा हालसम्मकै ठूलो राशी रहेको चैनपुर मेयर गोल्ड कप फुटबल प्रतियोगिता हो । यो प्रतियोगितामा ३ लाख रुपैयाँको प्रथम पुरस्कार राशी रहेको छ । वैशाख १५ देखि २२ गतेसम्म साताव्यापी रूपमा सञ्चालन गरिएको प्रदेशस्तरीय यो प्रतियोगिता सङ्खुवासभाको खेलकुद महोत्सवको रूपमा आयोजना गरिएको थियो ।

चैनपुरलाई खेलकुद क्षेत्रको हबको रूपमा विकास गर्न, हाइअल्टिच्युडको खेल सञ्चालन गर्न र चैनपुरलाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा चिनाउन खेलको आयोजना गरिएको मेयर भरत खत्रीले बताएका छन् । यो प्रतियोगितामा ३९ लाख खर्च भएको थियो ।

जिल्लामा हुने ठूला फुटबल प्रतियोगितामा अरुण भ्याल्ली रनिङ शिल्ड, चैनपुर गोल्ड कप, खाँदबारी गोल्ड कप, हाङ्थुम कप र मादी कप हुन् । भलिबल तर्फ रेजिना कप, द नर्थ बरुण कप, जिल्ला भलिबल सङ्घले आयोजना गर्ने अन्तरपालिकास्तरीय प्रतियोगिता र नवयुग क्लब चैनपुर पोखरीले आयोजना गर्ने प्रतियोगिता रहेका छन् ।

हाङ्थुम, मादी, खाँदबारी र लोहोरुङ कप आयोजना गर्दा पनि १५ देखि २० लाख खर्च हुने गरेको छ । यी ठूला प्रतियोगिता सञ्चालन गर्दा वार्षिक ४ देखि ५ करोड खर्च हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत घिमिरेले बताए ।

तर यतिको रकम खर्च गरेर गराइने प्रतियोगिता भने त्यति सहज नभएको घिमिरेले बताए । प्रतियोगिता सञ्चालनका लागि ठूलो रकम खर्च गरिए पनि व्यवस्थित रङ्गशाला र कभर्डहल नहुँदा समस्या भएको उनले गुनासो गरे । जिल्लामा हुने जुनसुकै प्रतियोगितामा दर्शकको बाक्लो उपस्थिति समेत छ तर व्यवस्थित रङ्गशाला र कभर्डहलको पनि अभाव उत्तिकै छ ।

फुटबल प्रतियोगिताका लागि भगिवन्त रङ्गशाला, चैनपुर रङ्गशाला र मुढेशनिश्चरे खेल मैदान फूल साइजको मैदान हो । मानेभन्ज्याङ खेल मैदान, खाँदबारी रङ्गशाला र मादी खेल मैदान नाइन साइजका मात्र हुन् । सेभेन साइजका थुप्रै मैदान छन् । तर व्यवस्थित भने कुनै पनि छैनन् ।

जिल्लामा हुने सयौँ साना प्रतियोगिता विद्यालयको खेलमैदान र विभिन्न सङ्घसंस्थाका मैदानमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । रङ्गशालाको अभावमा विद्यालयका मैदानमा आयोजना गरिएका प्रतियोगिता अवधिभर विद्यालय नै बन्द गर्नुपर्ने हुन्छ । प्रायः भलिबल प्रतियोगिता विद्यालयको मैदानमा गर्नुको विकल्प पनि छैन ।

रङ्गशाला र कभर्डहल नहुँदा वर्षायाम अर्थात् जेठ महिनादेखि भदौ अन्तिमसम्म जिल्लामा कुनै पनि प्रतियोगिता सञ्चालन गर्न सकिँदैन । खेल मैदानमा पानी परेपछि चिप्लो हुने र खेलाडीलाई असहज हुने हुँदा वर्षायाममा व्यवस्थित रङ्गशालाकै अभावका कारण प्रतियोगिता सञ्चालन गर्न नसकिएको घिमिरेले बताए ।

‘भलिबल, फुटबल, ब्याडमिन्टन र मार्सल आर्ट्स् खेलको व्यावसायिकता शुरु गरिएको छ’, उनले भने, ‘वर्षायाममा कुनै पनि खेल सञ्चालन गर्दा खेलाडीहरूलाई समेत समस्या भएको छ ।’

खेलकुदलाई निकै महत्वका साथ हेरेको सङ्खुवासभाले प्रतियोगिता सञ्चालन र समापनका समयमा लाखौं खर्च गरेर मन्त्री, खेलसम्बद्ध निकायका प्रमुख व्यक्ति र कलाकारसमेत ल्याउने गरेका छन् । तर भौगोलिक विकटतासँगै खेलकुदलाई अघि बढाउन नियामक निकायको ध्यान आकर्षित गर्न मोटो रकम खर्च गर्नुपरेको घिमिरेले बताए ।

तर अब प्रत्येक स्थानीय तहमा एक खेल मैदानका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको र जिल्लामा एक व्यवस्थित रङ्गशाला र एक कभर्डहल निर्माणका लागि सरकारको राष्ट्रिय नीति रहेकाले आशावादी रहेको घिमिरेको भनाइ छ ।

त्रिपाल बेरेर कभर्ड हल
ब्याडमिन्टन खेलमा पुरस्कार राशी सानै भए पनि खेलाडी र खेलप्रेमीको उपस्थिति कम छैन । जिल्लास्तरीय डबल समूहमा गरिने प्रतियोगिताहरूमा करिब ३० समूहको प्रतिस्पर्धा हुने गरेको छ । अहिले जिल्लाका झण्डै २६ स्थानमा कोर्ट निर्माण भएको छ । जसबाट थुप्रै खेलाडी उदीयमान छन् । तर व्यवस्थित खेलमैदान (कभर्ड हल) नहुँदा खेलाडीले सास्ती खेप्दै आएका छन् ।

जिल्लाका विभिन्न स्थानमा ब्याडमिन्टन खेल सञ्चालन हुने भए पनि कुनै पनि स्थानमा व्यवस्थित खेलमैदान छैन । खेलमैदान अभावमा खेलाडी सरकारी कार्यालयको परिसरभित्र तथा व्यक्तिका जग्गामा बनाइएको ब्याडमिन्टन कोर्टमा खेल खेल्न बाध्य छन् । विभिन्न समयमा जिल्लास्तरीय प्रतियोगिता हुने भए पनि प्रतिकूल मौसमका कारण खेल प्रभावित हुने गर्दछ ।

कभर्ड हल नहुँदा खाँदबारी नगरपालिकाभित्र मात्र ५÷६ स्थानमा खेलाडीमार्फत् आर्थिक रकम सङ्कलन गरी कोर्ट व्यवस्थित बनाउन खोजिएको छ । एउटा कोर्टलाई व्यवस्थापन गर्न त्रिपाल र बाँसको लागि करिब ६० हजार रुपैयाँ खर्च गरे पनि यो कार्य दिगो छैन । ब्याडमिन्टन खेलको विकासमा कभर्ड हल नहुँदा समस्या भएको खेलाडी सोनाम लामाले बताए ।

जिल्लास्तरमा थुप्रै ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने गरे पनि कभर्ड हल निर्माण पक्रिया भने अघि बढ्न नसकेको खेलाडी निराकार बज्राचार्यले बताए । कभर्ड हल निर्माणका लागि विभिन्न निकायबाट आश्वासन दिए पनि अहिलेसम्म निर्माण नहुनु दुखद कुरा भएको सङ्घका अध्यक्ष प्रवीण शेर्पाले बताए ।

हल निर्माणका लागि पटकपटक नियामक निकायमा अनुरोध गरिए पनि यसप्रति चासो नदेखाएको शेर्पाको भनाइ छ । तर कभर्ड हल निर्माणका लागि जग्गा उपलब्ध नभएकाले जग्गा खोज्ने काम भइरहेको खाँदबारी नगरपालिका वडा नं. १ का अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । उनका अनुसार जग्गा उपलब्ध भए तत्काल कभर्ड हल निर्माण प्रक्रिया अघि बढाउने थियौं ।

football sankhuwasabha 1