इटहरीः नेपालको प्रतिष्ठित गोल्डकप बुढासुब्बाको २१ औ संस्करणमा विभागीय टिम नेपाल पुलिस क्लबले पोखरेली टोली सहारा क्लबको सामना गर्दैछ ।
पुलिसलाई आजको खेल ५ वर्षअघिको नतिजालाइ बराबर गर्ने अवसर हुनेछ । १६ औं संस्करणको क्वाटरफाइलनमा सहारासँग टाइब्रेकरमा ३–२ ले पराजित बन्दै बाहिरिएको ४ संस्करणको च्याम्पियन पुलिसलाई आजको खेल इतिहास बदल्ने अवसरको रूपमा रहेको छ । सहारासंग पराजित भए यताको कुनै पनि संस्करणमा पुलिस फाइनल पुग्न सकेको छैन भने पोखरेली टिमको अवस्था समेत उस्तै छ । १६ औं संस्करणपछि सहारा क्लबका नामबाट सहभागिता नजनाए पनि पोखरा फुटबल क्लब र पोखरा एघारको नामबाट पोखरेली टिमले बुढासुब्बाको ३ संस्करणमा सहभागिता जनाएको थियो ।
बुढासुब्बाको सफल टिम पुलिस
बुढासुब्बाको २१ वर्षे इतिहासमा पुलिस सफल टिम मानिन्छ । यसअघिका २० वटा संस्करण मध्ये पुलिस ९ वटाको फाइनल पुग्ने टोली हो । जसमा ४ संस्करणमा विजेता र ५ वटा संस्करणमा उपविजेता भएको थियो ।
दोस्रो संस्करणमा पहिलो पटक बुढासुब्बाको उपाधी जितेको पुलिस लगातार छैटांै संस्करणसम्म फाइनल पुग्यो । लगातार २ वटा संस्करण जितेको पुलिसका लागि चौथो संस्करणमा उपाधी ह्याट्रिकमा पाहुना टोली बंगलादेशको धनमोदी क्लब बाधक बन्यो ।
पाँचौँ संस्करणमा फ्रेन्डस क्लबलाई हराउँदै पुलिसले तेस्रो पटक बुढासुब्बाको उपाधी हात पारेको थियो । छैटौं संस्करणमा उपाधीमा मनाङ मस्र्याङ्दी क्लब बाधक बन्यो । पुलिस क्लबले बुढासुब्बाको पाँचौ पटक फाइनल खेल्न १२ औ संस्करण नै कुर्नुप¥यो । २०६६ को १२ औं संस्करणमा समेत रानीपोखरी कर्नर टिम (आरसिटी) सँग पुलिस पराजित बन्दै तेस्रो पटक उपविजेता बन्यो । पुलिसका लागि १८ औँ संस्करणमा मनाङ र २० औ संस्करणमा थ्रीस्टार क्लब उपाधीका लागि बाधक बनेको थियो ।
यता सहारा क्लब २ पटक फाइनल प्रवेश गरे पनि उपाधी जित्न भने सकेको छैन । २०६७ सालको १३ औं संस्करणमा मनाङसँग पराजित बनेपछि बुढासुब्बा गोल्डकपमा पहिलो उपाधी जित्न सहारा असफल बन्यो ।
१६ औँ संस्करणमा पुलिसलाई हराएको टोली फाइनलमा अफ्रिकन युनाइटेडसँग पराजित बन्दै दोस्रो पटक समेत उपविजेतामा सीमित हुन पुग्यो सहारा ।