इटहरीः २१ औ संस्करणको बुढासुब्बा गोल्डकपको तेस्रो खेलमा आज आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको डेल हाउसीसँग भिड्दैछ । आयोजक टिमको लागि पाहुना टोली डेल हाउसी एथ्लेटिक क्लब कोलकत्ता बिलकुल नयाँ अनुभव हुनेछ ।

सो टिम बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागी हुँदैछ । २१ बर्षे गोल्डकपको इतिहासमा आयोजक टिमले घरेलु मैदानमा उपाधी जित्न सकेको छैन । ५ पटक उपाधी नजिकै पुगेको टोली लगातार ३ संस्करणमा उपविजेता बनेको थियो । पहिलो संस्करणमा आयोजकको लागि पाहुना टोली बेलगिरी स्र्पोटिङ क्लब कोलकत्ता नै बाधक बनेको थियो । दोस्रो र तेस्रो संस्करणमा आयोजकको लागि तत्कालीन महेन्द्र पुलिस क्लब (हाल नेपाल पुलिस क्लबमा रूपान्तरण) बाधक बनेको थियो ।

Mid page add from magh 25

८ आंै संस्करणमा पाहुना टोली अफ्रिकन युनाइटेडले आयोजकलाई हराउँदै चौथो पटक समेत उपविजेता नै हुन बाध्य बनायो । त्यसयताको संस्करणमा आयोजक टिमको प्रदर्शन सन्तोषजनक छैन ।

यता, पाहुना टोली डेल हाउस पहिलो पटक बुढासुब्बामा सहभागी भएको टोली हो । १ सय ३८ वर्ष पुरानो क्लबले स्थापनाकालमा सन् १९१०, १९२१, १९२८ र १९२९ मा गरी कुल ४ पटक कलकत्ता लिगमा उपाधी जितेको थियो । तर पछिल्लो समय खासै राम्रो प्रदर्शन हुन सकेको छैन । यद्यपि कोलकत्ता आसपासमा हुने फुटबल प्रतियोगितामा क्लबले सहभागिता जनाउँदै आएको छ ।

अघिल्लो संस्करणमा भारतको दुर्गापुर स्टिल बुढासुब्बा गोल्डकपमा सहभागी भएको थियो । पूर्वमा हुने गोल्डकपमा सहभागी पाहुना टोलीको खासै राम्रो प्रदर्शन हुन नसक्दा आजको खेल आयोजकको लागि सहज हुने अनुमान गरिएको छ ।