भोजपुरः विश्व अल्ट्राधावक मिरा राईको जन्मथलो भोजपुरमा यहि फागुन ४ गते सञ्चालन हुने चौथो भोजपुर ट्रेल रेस प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेको छ ।

आयोजक रिमाचुङ्ग एजुकेसन एण्ड स्पोर्टस एकाडेमी भोजपुरका संयोजक पावीहाङ्ग राईका अनुसार प्रतियोगिताको तयारी स्वरुप अब पैदल मार्गमा चिनो लगाउने काम मात्र बाँकी छ । ३६ किलोमिटर लामो यात्राको शुरुवात मिरा राईको जन्मघरसँगैको पौवादुङ्मा गाउँपालिका सानोदुङ्माको सानोदुङ्मा माविबाट गरिनेछ । करिब ८ घण्टामा यात्रा पुरा गरिने अनुमान छ ।

पत्रकार सम्मेलन गरेर आयोजकले गराएको जानकारी अनुसार सानोदुङ्मा माविबाट शुरु भएको यात्रा दिर्घेभञ्ज्याङ, तिवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, बोखिम दाम्सिङको पाँचधारे, देउरालीचोक हुँदै सदरमुकामको शहिदपार्कमा टुंगिनेछ । प्रतियोगितामा विदेशी देशका विभिन्न जिल्ला र भोजपुरका व्यवसायीक धावकहरुसमेत गरि करिब ३ सय सहभागिता रहने अपेक्षा गरिएको संयोजक राईले बताए । दौडमा उत्प्रेरणा जगाउन ३ देखि ८ वर्ष र ८ देखि १६ वर्ष उमेर समूहकालाई पनि सहभागि गराइने छ ।

प्रतिस्पर्धीमध्येबाट १८ देखि ३९ वर्ष उमेर, ४० देखि ६० वर्ष र ६० वर्षमाथि उमेर समूहकालाई पुरस्कारको लागि वर्गीकरण गरिएको छ । उत्कृष्ट महिला विजेतालाई जापानमा हुने गोरखा ट्रेल व्रेथ लगायतका प्रतियोगितामा सहभागि गराइने आयोजकले जनाएको छ ।

उक्त दौडका लागि पौवादुङ्मा गाउँपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ । विश्वमाझ नेपाल चिनाउन सफल अल्ट्राधावक मिरा राईको योगदानलाई सम्मान गर्दै मिराको नाममा बहुउद्धेश्यीय रंगशालासंगै सामुदायिक भवन समेत निर्माण गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।