भोजपुर: विश्व अल्ट्रा धावक मिरा राईको अगुवाईमा भएको भोजपुर ट्रेल रेसको उपाधि भोजपुर उमेश राई र प्रिया राईले हात पारेका छन् । कुल ३६ किलोमिटरको दौडमा पुरुषतर्फ भोजपुर वासिङ्गथर्पूका उमेश राईले ३ घण्टा ३१ मिनेट ३२ सेकेण्डमा पार गरेका हुन् । उनले विभिन्न राष्ट्रिय अन्तरािष्ट्रय रेसहरुमा सहभागी हुने अवसर पाउने छन् ।
त्यस्तै महिलातर्फ पहिलो खोटाङ्गकी प्रिया राईले ५ घण्टा १९ मिनेट ४ सेकेण्डमा पार गर्दै विजेता बनेकी छन् । हङकङमा हुने गोर्खा ट्रेल ब्रेजर रेसका लागि सहभागिता जनाउने अवसर प्राप्त गरेकी छन् । ३६ किलोमिटरकै दौडमा पुरुषतर्फ नै सविन तामाङले ३ घण्टा ४३ मिनेट ४ सेकेण्ड र सुमन कुलुङ ४ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पार गर्दै दोश्रो र तेश्रो भए । यस्तै महिलातर्फ प्रतिभा श्रेष्ठले ५ घण्टा ३६ मिनेट ३० सेकेण्ड र प्रिया तामाङले ६ घण्टा ४८ सेकेण्डमा पुरा गर्दै दोश्रो र तेश्रो बने ।
मिरा राईको जन्मघर पौवादुङ्मा गाउँपालिका सानोदुङ्माको सानोदुङ्मा माविबाट शुरु रेस दिर्घेभञ्ज्याङ, तिवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, बोखिम दाम्सिङको पाँचधारे, देउरालीचोक हुँदै सदरमुकामको सहिदपार्कमा टुंगिएको थियो । रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकाडेमीले आयोजना गरेको प्रतियोगितामा देशका विभिन्न स्थान तथा विदेशी समेत गरेर १ सय सय ४६ जना धावकको सहभागिता रहेको थियो ।