धरान: धरान उपमहानगरपालिकाले २१ औं बुढासुब्बा गोल्डकपमा उपविजेता धरान फुटबल क्लबका खेलाडीहरूलाई बुधबार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरेको छ ।
धरान उपमहानगरपालिकाको खेलकुद विकास समिति र धरान फुटवल क्लबले खेलाडीहरुलाई नगद पुरस्कारले पुस्कृत गरेको हो । उनीहरुलाई खेलाडीको क्याटोगोरी अनुसार न्युनतम १५ हजार रुपैयादेखि ३० हजार रुपैयाँसम्म पुरस्कार दिइएको हो । धरान उपमहानगरापलिकाले डेढ लाख र धरान फुटबल क्लबले दुई लाख गरी जम्मा ३ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको धरान उपमहानगरपालिका खेलकूद विकास समितिका संयोजक सुवास राईले जानकारी दिए ।
खेलाडीहरुलाई धरान उपमहानगरपालिकाकी कार्यबाहक नगर प्रमुख मञ्जु भण्डारीले पुरस्कार रकम प्रदान गरेकी थिइन् । पुरस्कार पाएपछि धरान फुटबल क्लबका खेलाडी बिष्णु सुनुवारले आफुहरुको प्रयासलाई गरिएको मुल्याङकनले खेल खेल्न अझ प्रोत्साहित भएको बताए ।
उता फुटबलका उप–विजेतालाई प्रोत्साहन पुरस्कार दिएपनि भलिबलका उपाधि बिजेता खेलाडीलाई वेवास्ता गरिएको भन्दै सयपत्री बोइज युनियन क्लबले उपमहानगरको ध्यानाकर्षण गराएको छ ।
क्लबका महासचिब केदार बस्नेतले भलिबलमा प्रदेशस्तरीय खेलमा बिजयी बनेको सयपत्री बोइज युनियनका खेलाडीलाई प्रोत्साहन पुरस्कार नदिनु र फुटबलका उपबिजेतालाई पुरस्कार दिइनुले खेल र खेलाडीप्रति विभेद गरिएको बताए ।
आहा गोल्डकप खेल्न धराने खेलाडीलाई विदाई
धरान÷ पोखरामा हुन गईरहेको आहा गोल्डपका खेल्न धरानबाट जाने खेलाडीहरुलाई बुधबार विदाई गरिएको छ ।उनीहरुलाई धरान उपमहानगरपालिकाकी कार्यबाहक नगरप्रमुख मञ्जु भण्डारी ,नगर खेलकूद विकास समितिका संयोजक सुवास राई,धरान फुटवल क्लबका अध्यक्ष किशोर राई सहितको टोलीले माला लगाएर विदाई गरेको हो ।
विदाई समारोहमा बोल्दै कार्यबाहक नगरप्रमुख मञ्जु भण्डारीले धराने खेलाडीको खेलबाट राम्रो नतिजा आशा गरिएको बताईन् । धरानले खेलकूदको राजधानी बनाउन खेलाडी उत्पादन र पूर्वाधार निर्माणको कार्य तीब्र गतिमा भईरहेको भन्दै उनले आगामी दिनमा धरानको खेलकूद क्षेत्रमा थप सुधार हुने बताईन् ।
धरान फुटबल क्लबले आहा गोल्डकपमा खप्तडसँग प्रतिस्पर्धा गर्ने छ ।