मेचीनगर: आसन्न आठौँ खेलकूद प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ स्तरीय टेवल टेनिस प्रतियोगिता विहीबारदेखि झापाको काँकरभिट्टामा शुरु भएको छ । प्रतियोगिता तीनसम्म चल्ने छ ।
पूर्वाञ्चल क्षेत्रीय खेलकूद विकास समिति विराटनगरले सामुदायिक भवनमा आयोजना गरेको प्रतियोगिताको प्रमुख अतिथि मेचीनगर नगर प्रमुख विमल आचार्य तथा पूर्वाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष रविन नगरकोटीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रतियोगितामा प्रदेश नम्बर १ अन्तर्गत सवै जिल्लाका महिला तथा पुरुष गरी कुल ९२ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा छनौट भएका खेलाडी प्रदेश नम्बर ५ को नेपालगञ्ज, धनगढी र बर्दियामा हुने आठौँ खेलकुद प्रतियोगितामा सहभागी हुने छन् । उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, सह–आयोजक झापा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापा लगायतले बोलेका थिए ।
झापा जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तब्य समितिका कोषाध्यक्ष धर्मराज शिवाकोटीले गरेका थिए ।