तस्बिरः विकास चाम्लिङ राई

धरानः प्रदेश १ बास्केटबल खेलाडी छनोट प्रतियोगिताको फाइनलमा पुरुषतर्फका खेलमा सुनसरी र इलाम भिड्ने पक्का भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार भएको छनोट प्रतियोगिताको सेमीफाइनल खेलमा सुनसरीले मोरङलाई ६८–३४ र इलामले धनकुटालाई ५४–२८ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
सुनसरी र मोरङले खेलको प्रत्येक क्वाटरमा १२–४, २७–१५, ९–१२ र २०–३ अङ्क तथा इलाम र धनकुटाले १४–५, ११–९, १८–६ र ११–८ अङ्क जोडेका थिए । सेमिफाइनलमा पराजित हुने मोरङ र धनकुटाले तेस्रो स्थानको लागि शनिबार फाइनल खेल अघि प्रतिष्पर्धा गर्ने भएका छन् ।
पुरुष खेलाडीको सेमीफाइनल खेलपछि प्रदेश १ का महिला खेलाडीको पहिलो चरणको छनोट कार्यक्रम सम्पन्न भएको थियो । सुनसरी, इलाम र मोरङका महिला खेलाडीलाई २ टिममा विभाजन गरी खेल खेलाएर पहिलो चरणको छनोट सम्पन्न गरिएको थियो ।
महिलाको फाइनल चरणको छनोट कार्यक्रम शनिबार पुरुष बास्केटबलको फाइनल खेल अघि सम्पन्न गरिने जिल्ला बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष तथा छनोट समिति सदस्य नारायण सुवेदीले जनाए ।
छनोट प्रतियोगिताबाट पुरुष १२ र महिला १२ जना प्रदेश १ बास्केटबल टिमका लागि छानिने खेलाडी छनोट समिति संयोजक बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले बताए ।