धरानः शनिबार धरानमा ‘रन विद किरात राई यायोख्खा नाराका साथ ३ हजार मिटर दौड सम्पन्न भएको छ ।

धरान रनको ४ सय ६ औं हप्ता तथा किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा दौड भएको बताइएको छ । आज बिहान ७ बजे शुरू भएको दौड कार्यक्रमका प्रमुख अतिथि किरायाका केन्द्रीय अध्यक्ष तिलक राई रहेका थिए ।

प्रमुख अतिथि राईले धरान रनेले धरानमा छुट्टै अस्तित्व कायम गरेको बताए । कार्यक्रममा बोल्दै संयोजक राजेन्द्र राईले दौडको आयोजना गर्नुको ३ वटा उद्देश्य रहेको बताए । महाधिवेशनमा आउने १ लाख भन्दा बढी आगन्तुकहरूलाई धरानको विभिन्न खेलमय पहिचान धरान रन, बास्केटबल, प्याराग्लाइडिङ, साइक्लिङ, फुटसल, हाइकिङ लगायतका बारेमा जानकारी प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ थियो ।

भोलि बिहान बिग फुट फुटसलमा फुटसल खेल हुने भएको छ । फुटसलमा आयोजक किराया, धरान फुटबल क्लब, धरान उपमहानगरपालिका र सुनसरीका पत्रकारको टिम रहने फुटसलका संयोजक नवीन राईले बताए । फुटसलका सम्पूर्ण सहभागी टिमलाई सम्मानपत्र तथा विजेता र उपविजेता टिमलाई ट्रफीसमेत प्रदान गरिने बताइएको छ ।

करिब ३ सय जना धावकले आजको दौडमा सहभागिता जनाएको आयोजकले जनाएको छ ।

kiraya run  (1)