धरानः ७ वर्ष अघि शुरु धरान–८ स्थित यलम्बर पार्कबाट तीनकुनेसम्म हरेक शनिबार हुने धरान रनले ४ सय ६ हप्ता पूरा गरेको छ ।
धरान रनले यही फागुन २५ गते हुने सातौँ नेवा च्यारिटी धरान १० के रनको पूर्वतयारीका लागि दौड गराइएको छ । ८ किलोमिटर लामो च्यारिटी रन यो वर्षबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त दौडअनुसार १० किलोमिटर हुने भएको छ ।

१२ वर्षभन्दा कम उमेरका लागि भने ३ किलोमिटर दौड हुने बताइएको छ । सातौँ नेवा च्यारिटी धरान १० के रनका लागि आर्थिक स्थिति कमजोर भएका ६७ धावकहरूका लागि करिब २० हजार रकम सङ्कलन गरी आयोजकले उपलब्ध गराएको धरान रनका अध्यक्ष रमु राईले बताए ।

आजको दौडको समापनमा २० हप्ता दौडेका अलोन ढकाल, आयुष लिम्बू, सेसेमा श्रेष्ठ, ५० हप्ता दौडेका अरूण ढकाल, सागर तामाङ र १ सय हप्ता दौडेका विवेक राईलाई धरान रनको टिसर्ट वितरण प्रदान गरिएको थियो । यससँगै हरेक हप्ता उत्कृष्ट दौडने १ महिला र १ पुरूषलाई जुत्ता प्रदान गरिँदै आएको छ । बिपीका सर्जन डा. समीर चौधरीले ५२ हप्ताका लागि हरेक हप्ता करीब १ हजार बराबरको २ जोर जुत्ता प्रायोजन गरेको अध्यक्ष राईले बताए ।