इलामः आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कराते विधामा प्रदेश नं १ टिमबाट इलामका ३ जना खेलाडी छनोट भएका छन ।
विराटनगर कभर्ड हलमा गत फागुन ७ गतेबाट जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा इलामकी प्रीति बस्नेत छानिएकी छिन् । उनले ५० केजी तौल समूहमा स्वर्ण पदक जित्दै ८ औ राष्ट्रिय खेलकुदमा प्रदेश टिमबाट स्थान सुरक्षित गरेकी हुन् ।
त्यसैगरी, ८४ केजी माथि भेषराज राई र ६७ केजी मुति तौल समूहमा समीक्षा लेप्चाले रजत पदक जित्दै प्रदेश नं १ को टिमबाट नेपालगञ्जमा हुने प्रतियोगितामा आफ्नो सहभागिता सुनिश्चित गरेको जिल्ला कराँते सङ्घ इलामका अध्यक्ष एवम प्रशिक्षक योगेश चाम्लिङ राईले जानकारी दिए ।
प्रदेशस्तरीय छनोटमा इलामबाट सहभागी २१ जना मध्ये ८ जनाले पदक प्राप्त गरेका थिए । एकल काता सहभागी विमोचना गुरुङ, ८४ केजीमा दिपेश घिमिरे, ६० केजीमा सविन मगर, दीक्षा दियाली र ६७ केजीमा भक्तबहादुर दर्जीले कास्य पदक प्राप्त गरेका छन् ।
कास्य प्राप्त गरेका उनीहरूले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।