झापाः झापाको काँकडभिट्टामा हिजोदेखि १ नं प्रदेशस्तरीय फुटबल तथा कबड्डी प्रतियोगिता शुरु भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पुरुष फुटबल र पुरुष तथा महिला कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै खेलसम्बन्धी ऐन निर्माण गर्न प्रदेश संसद्मा विधेयक पेश भएको जनाए ।
उनले ६ दशक लामो इतिहासमा खेल क्षेत्रले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्नु दुःखद रहेको बताउँदै अब नेपाली खेलकुदले अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने बताए । नेपाली खेलकुदले गति लिन नसक्नुको कारण प्रस्ट्याउँदै मन्त्री कार्कीले सरकारले अब खेलकुदमा लगानी गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
काँकडभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगिता आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रदेशस्तरीय खेलाडी छनोटका लागि भएको हो । प्रतियोगितामा जिल्लास्तरीय प्रतियोगिताबाट विजयी भएका खेलाडीले सहभागिता जनाएका छन् । फागुन १६ गते समापन हुने प्रतियोगितामा १४ जिल्लाबाट एक जिल्ला बराबर १२ पुरुष र १० जना महिला खेलाडीले भाग लिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताए ।