विराटनगरः दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रूपमा आयोजना हुने पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का र मादिभ्सको सहभागिता रहनेछ । स्थानीय शहीद रङ्गशालामा हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको एन्फाका उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पङ्कजविक्रम नेम्वाङले बताए ।
साफ महिला फुटबलका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश नं १ ले ५० लाख सहयोग गरेको एन्फाका उपाध्यक्ष किरण राईले बताए ।
अब काठमाडौँ बाहिर पोखरा, बुटवल, नेपालगञ्ज जस्ता शहरमा प्रतियोगिता आयोजना गर्ने योजना रहेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । खेलाडीलाई अभ्यासका लागि विराटनगर जुट मिल, स्थानीय दिल्ली पब्लिक स्कुल र सुनसरीको दुहबी नगरपालिकास्थित मैदान उपलब्ध गराइएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स छन् । प्रतियोगिता सम्पन्न गर्न लगभग १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।