इटहरीः फागुन २८ देखि विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपमा नेपाली टोलीले उपाधी चुम्न कडा मिहिनेत गरिरहेको छ । प्रशिक्षक हरि खड्काको बन्द अभ्यासमा रहेका २४ खेलाडी इटहरी रङ्गशालामा अभ्यासरत छन् ।
भारतमा भर्खरै सम्पन्न भएको हिरो गोल्डकपमा भारतलाई जितेको टोली यो पटक उपाधी चुम्न तयार देखिन्छ । इटहरी रंगशालामा एक हप्ता अगाडिदेखि प्रशिक्षण दिइहेका हरि खड्काले अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रस्तुति हुने दाबी गरे । भारतमा भएको खेलका कमजोरीलाई सच्याउँदै साफ च्याम्पियनसिपमा जित्ने लक्ष्य रहेको उनले बताए । हिरो कपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको थियो ।
प्रायः भारतसँग आमनेसामने भइरहेको नेपालले यो पटक भने ‘होम ग्राउण्ड’मा उच्च मनोबलका साथ खेल्नेछ । टिम क्याम्प्टेन अनु लामाका अनुसार विगतका कमजोरीलाई सच्याउँदै नेपालले उपाधी जित्ने लक्ष्य लिएको छ ।
‘जहिल्यै पनि प्रतिद्वन्द्वी भारत हुन्छ । तर, यो पटक हामीले जितेका छौँ । सबै खेलाडी कन्फिडेन्टका साथ खेल्न तयार भएको हुँदा जित्न लागिपरेका छौंँ,’ उनले भनिन् ।
विराटनगरको शहीद रंगशालासहित अन्य २ मैदानमा प्रतियोगिता हुँदैछ । नेपालले पहिलो खेलमा फागुन २८ गते दिउँसो तीन बजे भुटानसँग प्रतिस्पर्धा गर्दैछ । भारतसँगको नेपालको मैदान भेट १० पटक भइसकेको छ । जसमा भारतले ७ पटक जितेको छ भने २ पटक खेल ‘ड्र’ भएको छ । नेपालले इतिहास रच्दै यो पटके भारतको भुवनेश्वरमा भएको हिरो कपमा १ का विरुद्ध २ गोल हानेको थियो । त्यसैले उच्च मनोबल लिएर तयारी गर्दै गरेको नेपाली टोली पुनः अर्को इतिहास रच्ने तयारीमा छ ।