इटहरीः फागुन १७ र १८ गते इटहरीमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
पाथीभरा तेक्वान्दो डोजाङको आयोजनामा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । नेपाल लाई विश्वभर चिनाउने खेल तेक्वान्दो मात्र रहेकाले खेलाडीको प्रोत्साहन गर्न र नयाँ खेलाडी उत्पादनको निम्ति खेल आयोजना गरिएको आयोजकले जनाएको छ ।
इटहरी–४ हलगडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक देशबन्धु कार्कीले इटहरीलाई खेलकुदको हब बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
प्रदेशभरका ११ टिमको सहभागिता रहने कार्यक्रममा पुरुषतर्फ २२ केजीदेखि ८० केजी तौल समूहसम्म प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै, महिलातर्फ ३३ देखि ५६ केजी तौल गरी जम्मा १७ वटा तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ ।
७ लाख ३५ हजार अनुमानित लागतमा हुने खेलमा दैनिक १ हजार बढी दर्शकको सहभागिता रहने आयोजकको दाबी छ ।