इटहरीः इटहरीमा जारी प्रदेश नम्बर एक स्तरीय पचरुखी भेट्रान फुटबल प्रतियोगिताको पहिलो खेलमा बिर्तामोड विजयी बनेको छ । इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा बिर्तामोडले धरानलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजीत गरेको हो ।
बिर्तामोडका खेलाडी मित्र बस्नेत एक्लैले ४ गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेका बस्नेतले दोस्रो हाफमा पुनः २ गोल गर्न भ्याए । खेलअवधिभर धरानलाई दबाबमा राख्न सफल बिर्तामोड सहज जीत निकाल्न सफल भयो ।
धरानका तर्फबाट १ गोल मात्र फर्किएको थियो । धरानका प्रेम सागर घिमिरेलेले टीमलाई सान्त्वना गोल फर्काउन सफल भए । आजको खेलको म्यान अफ द म्याच बस्नेत नै घोषित भए । भोलिको खेल धनकुटा भेट्रान र राज घाट मोरङबिच हुनेछ । प्रतियोगिताका विजेताले १ लाख १ हजार नगदसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार नगदसहित ट्राफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
पचरुखी युवा क्लबले गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगिता यो पहिलो हो । हरेक वर्ष नियमित गर्ने आयोजक क्लबका अध्यक्ष पीताम्बर पोख्रेलले जानकारी दिए ।
औपचारिक कार्यक्रम नगरी खेल सुरु
मुलुक शोकमा रहेको हुँदा पूर्व निर्धारित औपचारिक कार्यक्रम भने भएन । बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । उनीहरूको सम्झनामा खेल सुरु हुनु पूर्व मौन धारण गरिएको थियो ।
निम्ता गरिएका अतिथिलाई अनौपचारिक रूपमा खेल सुरु भएको जानकारी दिइयो । राष्ट्र धुन र फिफाधुनबिनै खेल सुरु भएको थियो । खेल सुरु हुनुभन्दा अगाडी क्लबका अध्यक्ष पोख्रेल, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापा, एन्फा सुनसरी अध्यक्ष केशव कार्कीलगायतले खेलका रेफ्री फारुक महम्मदलाई बल हस्तान्तरण गरेर खेल सुरु गरिएको थियो ।