धनकुटाः आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधी ताप्लेजुङले जितेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शुक्रबार भएको फाइनल खेलमा मोरङलाई शून्यका विरुद्ध एक गोल गर्दै ताप्लेजुङले उपाधी जितेको हो । दोस्रो हाफको २७ औं मिनेटमा अनुष्का शेर्पाले गरेको एक मात्र निर्णायक गोल ताप्लेजुङको जीतका लागि पर्याप्त रह्यो । उपाधिसँगै ताप्लेजुङको टिमले ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

फाइनल खेलको वुमन अफ दि म्याच मोरङकी कोपिला धिमाल भइन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम ताप्लेजुङकी अनुष्का शेर्पा र उदीयमान खेलाडी धनकुटाकी अञ्जना थुलुङ घोषित भएकी थिइन् । उनीहरुले नगद र प्रमाणपत्र पाए ।

सो प्रतियोगिताबाट आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि १ नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला फुटवल टिमका लागि १८ जना खेलाडी छनोंट समेत गरिएको छ । टिममा मोरङका खेलाडी सबैभन्दा बढी छनोट भएका छन् ।

मोरङबाट कल्पना क्षेत्री, कोपिला धिमाल, लक्ष्मी जोशी, सावित्री मगर र इमा राई छनोट भएका छन् । त्यस्तै, झापाबाट विपिसा राजवंशी, दीक्षा चौधरी, ममता राउत, पूजा खतिवडा चयन भएका छन् ।

ताप्लेजुङबाट अनुसा थेबे, सुस्मा खाती, अनुष्का शेर्पा, पवित्रा लिम्बू, उदयपुरबाट मनिका राई, सविता तामाङ चयन भएका छन् ।

सुनसरीबाट पवित्रा राई, मिका राई र धनकुटाबाट अञ्जना थुलुङ छनोट भएको धनकुटा फुटबल सङ्घका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।