ओखलढुङ्गाः प्रदेश नं १ प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि झापाले जितेको छ ।

ओखलढुङ्गामा शुक्रबार सम्पन्न प्रदेशस्तरीय पुरुष भलिबलको छनोट प्रतियोगितामा भोजपुरलाई ३०–२८, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै झापाले उपाधि जितेको हो ।

त्यस्तै सङ्खुवासभालाई हराउँदै सुनसरीले तेस्रो स्थान हासिल गरेको छ । सुनसरीले सङ्खुवासभालाई २५–२१, २५–२३, २१–२५ र २५–२० को सेटमा हराएको छ ।

प्रदेशस्तरीय खेलबाट छनोट भएका खेलाडी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले बताए । उनका अनुसार ओखलढुङ्गाबाट सञ्जय बुढाथोकी, डोरबहादुर बस्नेत र समितबहादुर बस्नेत, झापाबाट नवीन रिजाल, दिपेन मल्ली, राजन लिम्बू, सरोज चौलागाईं र रोहित शिवाकोटी छनोट भएका छन् ।

त्यस्तै, सुनसरीबाट वसन्त राई, दिवस लिम्बू, मोरङबाट रवीन गौतम, उदयपुरबाट कृष्ण थापा, भोजपुरबाट मनिष गौतम, सोलुखुम्बुबाट सञ्जय बस्नेत, सङ्खुवासभाबाट प्रदीप कट्टेल र सुरेन्द्र गिरी राष्ट्रिय खेलका लागि छनोट भएका छन् । फागुन १३ गतेदेखि शुरु सो प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाले सहभागिता जनाएका थिए ।