झापाः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले झापा फुटबल खेलका लागि उर्वरभूमि भएको बताएका छन् ।
झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आजदेखि शुरु झापा गोल्डकपको उद्घाटन गर्दै उनले भने, ‘झापाले नेपाली फुटबलको विकासमा ठूलो योगदान गरेको छ ।’
समृद्ध मुलुक निर्माणका लागि खेल क्षेत्र पनि महत्वपूर्ण पक्ष भएको उनले बताए । ‘खेल क्षेत्रले आपसी सद्भाव र बन्धुत्वको भावना विकास गर्छ’, उनले भने, ‘आर्थिक र भौतिक विकास मात्र विकास होइन ।’
झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले अब क्वाटरफाइनलमा हङकङ नेप्लीज एकेडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने भएको छ ।
झापाको जीतका लागि खेलाडी सञ्जोग राई नायक बने । खेलको ३५आँै मिनेटमा कप्तान कर्ण लिम्बूलाई विस्थापन गर्दै मैदान प्रवेश गरेका राईले १ गोलमा पास गरेका थिए भने अर्काे गोल आफैँले गरेका थिए ।
खेलको म्यान अफ द म्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले रू १५ हजार प्राप्त गरेका छन् । त्यस्तै, दर्शकमध्येका शिवसताक्षीका भक्तिप्रसाद भण्डारीले लक्की ड्र बाट २० इञ्चको टिभी पाएका छन् । भोलिको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिले जनाएको छ ।
फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।