झापाः आईसीसी वुमन्स ट्वान्टी २० एसिया क्षेत्र विश्वकपका लागि थाइल्याण्डमा बुधबार सम्पन्न एशियाली छनोटमा दोस्रो भएर स्वदेश फर्किएको नेपाली महिला क्रिकेट टोलीमा सहभागी ४ जना खेलाडीलाई उनीहरूको गृहनगर झापाको मेचीनगरमा सम्मान गरिएको छ ।
आईसीसी वुमन्स ट्वान्टी २० एशिया क्षेत्र छनोटमा कुबेतविरुद्ध अन्तिम ३ विकेट लिँदै अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक ह्याट्रिक विकेट लिएकी टिम कप्तान रुविना क्षेत्री, हङकङविरुद्धको खेलमा २४ रनको निर्णयक इनिङ्स खेल्दै नेपालको जीत हात पार्ने अप्सरी वेगम, रोमा थापा र काजल श्रेष्ठलाई काँकरभिट्टामा सम्मान गरिएको हो । चारैजना खेलाडी मेचीनगर– ६ का स्थायी बासिन्दा हुन् ।
उनीहरूलाई मेचीनगरवासीका तर्फबाट फूलमाला खादासहित टीका लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।
खेलमा हारजित हुनुलाई स्वभाविक लिनुपर्ने र नेपाल दोस्रो भए पनि नेपाली खेलाडीले निकै राम्रो खेल प्रदर्शन गरेको अप्सरी बेगमले बताइन् । नेपाली टोलीभन्दा थाइल्याण्ड टिम निकै राम्रो भएका कारण नेपाली खेलाडीले जति नै राम्रो खेले पनि पहिलो हुन नसकेको अर्की खेलाडी रोमा थापाले बताइन् ।
आफ्ना छोरीहरूले अन्तर्राष्ट्रिय स्तरमा खेलकुदका माध्यमबाट नेपालको नाम उच्च बनाएकोमा उनीहरूका अभिभावक धेरै खुशी छन् । अप्सरी वबगमको बुबा आफफ मियाँ छोरीको यो काम देखेर औधी खुशी प्रकट गर्छन् ।
आईसीसी वुमन्स ट्वान्टी २० विश्वकप अन्तर्गत भएको एशिया क्षेत्रीय छनोट प्रतियोगितामा थाइल्याण्डबाहेक सहभागी ६ राष्ट्रलाई पराजित गर्दै नेपाल दोस्रो स्थानमा रहेर स्वदेश फर्किएको थियो । नेपाली महिला क्रिकेट टोलीले पछिल्लो समय लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उत्कृष्ट प्रदर्शन सहित २ वर्षपछिको अन्तर्राष्ट्रिय यात्रालाई सुखद बनाएको थियो ।
फागुन ६ गतेदेखि १५ गतेसम्म थाइल्याण्डमा भएको महिला विश्वकप एशियाली छनोटको राउण्ड रोविन लिगमा दोस्रो भएपछि नेपाल विश्वकपको ग्लोबल क्वालिफायर खेल्न भने वञ्चित भएको छ ।