झापाः ‘सुखानीको रगतले भन्छ हामीलाई,
सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’
४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ ।
वि.सं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।
सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।
सोही विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले) एवम् नेकपा (माओवादी) हुँदै आज मुलुकको संसद्मा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपाको जन्म भएको मानिन्छ । अझै पनि नेमकिपा, नेकपा (मसाल), नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा आदि अन्य वामपन्थी समूह पनि संसद्भित्र र बाहिर क्रियाशील छन् ।
सुखानी उद्यानमा स्मृति दिवस
यस वर्ष नेकपाले ४६ औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्मृति दिवस मनाउन फागुन २१ गते झापा आउने कार्यक्रम रहेको नेकपाका जिल्ला नेता चिन्तन पाठकले बताए ।
दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्ने सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमुना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।
पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच रुख सँगै जोडिएर हुर्केका छन् । घटनास्थललाई शहीद स्मारकका नाममा संरक्षण गरिएको नेकपाका नेता नरेश खरेल बताउँछन् ।
आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते सुखानी जङ्गलमा हत्या गरिएका ५ शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा श्रद्धाञ्जलिसभा गरिने नेकपाका नेता मणिकुमार राईले बताए ।
यसअघिका वर्षमा तत्कालीन एमाले र माओवादीले फरक फरक स्थानमा फरक दिन सो दिवस मनाउँदै आएका थिए ।
के भन्छन्, आन्दोलनका सहयात्री मनकुमार गौतम
झापा विद्रोहमा लागेर १८ वर्ष कारागार जीवन बिताएका झापाका नेकपा नेता मनकुमार गौतमका अनुसार पाँचै योद्धाले सुखानीको जङ्गलमा हाँसीहाँसी बलिदान स्वीकारेका थिए । ‘पञ्चायती शासकहरूसँग आत्मसमर्पण गरेको भए उनीहरूको ज्यान जोगिन सक्थ्यो होला तर बलिदानी भावनाले ओतप्रोत झापाका क्रान्तिकारीहरूले पञ्चायतसँग झुक्नुभन्दा मृत्युलाई रोजे’, गौतमले भने ।
नेता गौतमलाई पनि साधुको भेषमा भूमिगत राजनीतिमा क्रियाशील भएकै अवस्थामा पञ्चायती शासकले गिरफ्तार गरी १८ वर्ष थुनेको थियो । कारागार सारेको घटनाका प्रत्यक्षदर्शी गौतम ५ क्रान्तिकारीहरूसँगै कारागारमा थिए ।
‘चन्द्रगढी कारागारको ५ नं. कोठामा ५ शहीदहरूसँगै हामी १५ जना राजनीतिक बन्दीहरू थुनिएका थियौं’, २०२९ साल फागुन २१ गते बिहान करीब ११ बजेको घटना सम्झिँदै गौतम भन्छन्, “उहाँहरू ५ जनालाई मात्र बाहिर निकालियो र पुुलिसको गाडीमा चढाएर इलाम जेलमा सार्ने भनेर लगियो ।’
साथीहरूसँग कसिलो हात मिलाएर बिदा हुनुअघि ५ जनामध्येका अगुवा दाहालले ‘ कमरेडहरू, आज हामी मारिन जाँदैछौंँ, क्रान्तिका निम्ति हामी बलिदान हुन जाँदैछौंँ, अब हाम्रो फेरि भेट हुँदैन, तपाईँ बचेका कमरेडहरूले क्रान्तिको झण्डा निरन्तर उठाइरहनुहोला’ भनेको गौतमको स्मरणमा ताजै छ ।
हतकडी र खुट्टामा नेल लगाएर चन्द्रगढीबाट शनिश्चरेसम्म गाडी चढाएर लगेपछि त्यहाँबाट पैदलै हिँडाएर झापा र इलामको सिमानामा पर्ने सुखानीको एकान्त जङ्गलमा लहरै उभ्याएर प्रहरीले गोली हानेर हत्या गरेको थियो । सुखानीका ५ क्रान्तिकारीको शहादतको ४३ वर्षपछि २०७२ साल फागुन १९ गते सो क्रान्तिका सहयोद्धा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मन्त्रिपरिषद्ले उनीहरूलाई शहीद घोषणा गरेको थियो ।
गरीब योद्धा
५ जनामध्ये घैलाडुब्बाका दाहाल मात्र मध्यमवर्गीय परिवारका थिए । झापा विद्रोहका बेला विद्यार्थी राजनीतिमा होमिएका झापाका पुराना नेता विष्णु प्रसाईँका अनुसार वर्तमान प्रधानमन्त्री ओलीलाई समेत शिक्षादीक्षाका लागि सघाएका उनी हक्की र सामाजिक रूपमा प्रतिष्ठित थिए ।
बुधबारेका श्रेष्ठ शहीद भएको बेला १७ वर्षका थिए । उनी ५ शहीदमध्ये कान्छा र गरीब परिवारका थिए । घिमिरे गरामनी प्राथमिक विद्यालयका शिक्षक थिए । उनी आर्थिक रूपमा विपन्न परिवारका सदस्य थिए । गरामनीका कुइँकेल र ज्यामिरगढीका राजवंशीसमेत अत्यन्त गरीब परिवारका थिए । कुइँकेल विद्यार्थी र राजवंशी सरकारी कर्मचारी थिए ।
समृद्धिको सपना पूरा हुन बाँकी
नेकपा नेता गौतम सुखानीका शहीदहरूले देखेको सुख र समृद्धिको सपना पूरा हुन बाँकी नै रहेको बताउँछन् । उनले पञ्चायती निरङ्कुश राजतन्त्र समाप्त गर्ने र एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने शहीदको सपना पूरा भए तापनि आर्थिक सामाजिक रूपान्तरण गर्दै गरीब, श्रमजीवी र उत्पीडित वर्गलाई सुखी र समृद्ध बनाउने सपना अधुरै रहेको बताए ।
नेता गौतमका अनुसार ‘झापा विद्रोह’कै जगमा नेपाली कम्युनिष्ट आन्दोलन एकीकृत भएर आजको अवस्थासम्म आइपुगेको हो । सोही विद्रोहको नेतृत्वकर्ता केपी ओलीले शहीदका अधुरा सपना पूरा गर्ने अभिभारा बोकेर मुलुक हाँकिरहेका छन् ।
विसं २०२८ देखि २०३० सम्म भएको झापा विद्रोहको नेतृत्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली, नेकपा(माले)का महासचिव सीपी मैनाली र वरिष्ठ राजनीतिज्ञ आरके मैनालीले गरेका थिए ।
मनमोहन अधिकारीको नेतृत्वमा रहेको पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरी २०२८ सालमा आरकेको नेतृत्वमा झापामा सशस्त्र आन्दोलनको घोषणा गरिएको थियो ।
आरके बिरामी भएपछि सोही सालको उत्तराद्र्धतिर ओलीको नेतृत्वमा पार्टी पुनर्गठन गरेर झापा जिल्ला कोअर्डिनेशन कमिटी नेकपा माले गठन गरिएको नेकपा नेत गौतम बताउँछन् ।
झापा विद्रोह उत्कर्षका बेला ओलीले नै नेतृत्व गरेको जनाउँदै गौतमले २०३० सालमा सीपीको नेतृत्वमा नेकपा माले जिल्ला कमिटी गठन भएको बताए ।
१४ वर्षमै भूमिगत पूर्वमन्त्री खड्का
झापा विद्रोहमा १३ वर्षका उमेरमा घर र विद्यालयको पढाइ छाडेर होमिएकी सीता खड्का (नीलम केसी) १४ वर्षकै उमेरमा २ वर्षसम्म कारागार परेकी थिइन् । खड्का २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको गठन भए पनि मुलुकभर कम्युनिष्ट समूह विभाजन र अवसरवादका कारण सुस्ताएको बेला झापाका युवा क्रान्तिकारीले झापा विद्रोहको साहसिक बाटो रोजेको बताउँछिन् ।
‘पञ्चायतको बर्बर शासन थियो, गाउँहरूमा जमिन्दारहरूको शोषण र उत्पीडन सहिनसक्नु अवस्थामा थियो’ आफू झापा विद्रोहमा लाग्नुको कारण बताउँदै पूर्वमन्त्री खड्का भन्छिन्, ‘म सानैदेखि अन्याय नसहने स्वभावकी थिएँ, क्रान्ति शुरु गर्ने नारा र नेताहरूको बलिदानी भावनाले हामीलाई कलिलै उमेरमा भूमिगत राजनीतिमा लाग्न प्रेरित गयो ।
जनयुद्ध ‘झापा विद्रोह’ कै निरन्तरता
विसं २०५२ फागुन १ गते जनयुद्ध घोषणा गरी सशस्त्र आन्दोलनमा होमिएको तत्कालीन नेकपा माओवादीले झापा विद्रोहलाई आफ्नो ‘प्रेरणाको स्रोत’ मानेको थियो । झापामा माओवादी विद्रोहको अगुवाइ गरेकी प्रतिनिधिसभा सदस्य एवम् नेकपा नेतृ धर्मशिला चापागाईँले भनिन्, ‘झापा विद्रोहकै जगमा जनयुद्ध भयो र आजको परिस्थिति ल्याउन सकियो ।’
उनका अनुसार माओवादीले सशस्त्र द्वन्द्वकालमै सुखानीको स्मृतिमा इलामको दानाबारीमा जनसेना फौजको कनाम सुखानी स्मृति ब्रिगेड राखेको र ‘सुखानी आवाज’ पत्रिकासमेत प्रकाशन गरेको थियो ।