इटहरीः इटहरी– ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिताको मङ्गलबार भएको खेलमा धनकुटा भेट्रान आयोजक हरियोसँग पराजित बनेको छ । धनकुटाले पहिलो हाफको २ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए पनि जीत भने आयोजक हरियोको भयो ।
धनकुटाका लागि रत्नबहादुर राईले आकर्षक गोल गरेर गोलको शुरुवात गरेका थिए ।
तर, विपक्षीका तर्फबाट निर्मल राई र डेनिम राईले ४१ र ४२ मिनेटमा लगातार २ गोल गरेर टिमलाई २–१ गोलको अन्तरले आफ्नो टिमलाई अघि पारेका थिए । नभन्दै उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।
आयोजक हरियोका खेलाडी रामशरण चौधरी म्यान आफ द म्याच घोषित भए । बुधबारको खेल बिर्तामोड भेट्रान र सिएमजी विराटनगरबीच हुनेछ ।
प्रतियोगिताका विजेतालाई १ लाख १ हजार नगदसहित विभिन्न आकर्षक पुरस्कार रहेका छन् । त्यस्तै उपविजेतालाई भने ५१ हजार नगदसहित अन्य पुरस्कार रहेको आयोजकले बताएको छ ।
खेलमा धरान, बिर्तामोड, सी.एम.जी. विराटनगर, एभरेस्ट भेट्रान क्लब मोरङ, टी.डब्लु. वाई.सी. भेट्रान विराटनगर, राजघाट भेट्रान मोरङ, धनकुटा भेट्रान, आयोजक रातो र हरियो गरी १० टिमको सहभागिता रहेको छ।