बेलबारी / मोरङको बेलबारीमा दोस्रो बुद्ध एयर अन्तर्राष्ट्रिय लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । भदौ २३ देखि ३० गते सम्म प्रतियोगिता हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
फुटबलको विकास र राम्रा खेलाडी उत्पादनका लागि दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागिएको डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताए ।
प्रतियोगितामा विभिन्न क्लबमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीले सहभागिता जनाउने बताइएको छ । अध्यक्ष राईका अनुसार प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब मोरङ, उर्लाबारी स्थित मोरङ फुटबल एकेडेमी मंगलबारेले प्रतियोगितामा भाग लिनेछन् । त्यस्तै, युनाइटेड खर्साङ भारत, इलाम ११, बिर्तामोड युनाइटेड क्लब झापा, धनकुटा र उदयपुर ११ तथा चर्च ब्वाईज काठमाडौं सहभागी हुनेछन् ।
प्रतियोगिता आयोजना गर्न बुद्ध एयरले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस बाहेक विभिन्न संघ संस्था, लक्ष्मीमार्गका स्थानीय तथा विदेशमा बसोबास गर्दै आएकाले सहयोग गर्ने उनले बताए । राईका अनुसार यस वर्ष पुरस्कार राशि बढाएर दोब्बर बनाइएको छ ।
उनका अनुसार पहिलो हुने टिमलाई २ लाख २२ हजार र दोस्रो हुने टिमलाई १ लाख २ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता लक्ष्मी खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि दर्शकको सुरक्षा र उपस्थितिलाई मध्यनजर गर्दै अस्थायी प्याराफिट निर्माणको काम पनि शुरु गरिसकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । उदीयमान खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि २८ लाख ४५ हजार रुपैयाँ आम्दानी र २५ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । क्लबले निर्माण गरेको १ कोठे भवनको पनि उद्घाटन गरिएको छ ।
साढे ३ लाख रुपैयाँको लागतमा बनेको भवनको बेलबारी–११ का वडाध्यक्ष राजन पोख्रेलले उद्घाटन गरेका हुन् । गत वर्ष प्रतियोगितामा भएको २ लाख ७२ हजार रुपैयाँ नाफा र अन्य खर्च जुटाएर भवन बनाइएको बताइएको छ ।