पथरीः चौथो नगर स्तरीय खुला नक आउट फुटवल प्रतियोगिताको आजको पहिलो सेमीफाइनल खेल वडा नम्वर ९ र ५ का बीचमा हुने भएको छ ।
बुधबारको खेलमा साबिक विजेत वडा नम्बर १ ले २ लाई ५–४ गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको थियो ।
निर्धारित ७० मिनेटको खेल ३–३ गोलको बरावरीमा सकिएपछि खेलको नतिजा टाइबे्रकरबाट लिइएको थियो ।
टाइब्रेकरमा वडा नम्वर १ का सुमन राई, मीन धिमाल, नयन लिम्बू, विशाल पाण्डे र साईमन लिम्बूले प्रहार गरेको बलले गोलको दिशा लिएको थियो ।
यता, वडा नम्वर २ का तर्फबाट टाइब्रेकरमा सन्तोष न्यौपाने, सनम तामाङ र सन्दीप मगरले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । असीम राईले प्रहार गरेको बल बाहिरिएको थियो ।
आजको पहिलो खेल वडा नम्बर ५ र वडा नम्बर ९ का बीचमा हुने खेल संयोजक बिकी राईले जानकारी दिएका छन् ।
बुधबारको खेलको म्यान अफ दि म्याच वडा नम्वर १ का सुमन राई घोषित हँुदै नगद १ हजार ५ सय र ट्रफी हात पारेका छन् । उनको प्रतिभालाई प्रोत्साहन गर्न नगर खेलकुद विकास समितिका अध्यक्ष मणि लिम्बूले थप रकम प्रदान गरेका थिए ।
बुद्ध युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता वडाले नगद ५१ हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपविजेता बन्ने वडाले ३१ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष मदन राईले बताए ।
विधागत विजेताले जनही २ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका १० वडा सहभागी छन् ।