इटहरीः इटहरी– ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगितामा आयोजक पचरुखी भेट्रान फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा आयोजकले एभरेष्ट भेट्रान मोरङलाई २–१ गोलअन्तरले उछिन्दे फाइनल प्रवेश गर्न सफल भएको हो ।

खेलको ३४ औं मिनेटमा एभरेष्टका खेलाडी भुवनसिँ राईले पहिलो गोल गरे पनि आयोजकका तर्फबाट थप २ गोल भएको थियो । ३९ औं मिनेटमा लीलाराम मगर र ४१ औं मिनेटमा निर्मल तामाङले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच एभरेष्टका भुवनसिंह राई घोषित भए । उनलाई दर्पण ट्रेडर्सका प्रोप्राइटर अभिषेक श्रेष्ठले मायाको चिनो प्रदान गरे ।

आयोजकको भेट फाइनलमा बिर्तामोड भेट्रान झापासँग हुनेछ । बिर्तामोड सिएमजी भेट्रान विराटनगरलाई हराउँदै फाइनल पुगेको हो । शुक्रबारको खेल मैत्रीपूर्ण म्याच हुने बताइएको छ । आयोजक पचरुखी युवा क्लब र इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरबीच खेल हुने आयोजक संस्था पचरुखी युवा क्लबका सहसचिव विष्णु बास्तोलाले जानकारी दिए ।

प्रतियोगिताका विजेतालाई १ लाख १ हजार नगदसहित विभिन्न आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै उपविजेता लाई भने ५१ हजार नगदसहित अन्य पुरस्कार रहेको क्लबका अध्यक्ष पीताम्बर पोख्रेलले जानकारी दिए ।

खेलमा धरान, बिर्तामोड, सीएमजी विराटनगर, एभरेस्ट भेट्रान क्लब मोरङ, टीडब्लु वाइसी भेट्रान विराटनगर, राजघाट भेट्रान मोरङ, धनकुटा भेट्रान, आयोजक रातो र हरियो गरी १० टिम सहभागी थिए ।