भोजपुरः भोजपुरको टुँडिखेलमा भएको दोस्रो मेयर कप खुला फुटबल प्रतियोगिताको उपाधि भोजपुर नगरपालिकाको वडा नम्बर ११ आम्तेक टिमले हात पारेको छ ।
आज भएको फाइनल खेलमा भोजपुर नगरपालिकाको वडा नम्बर ७ लाई २ का विरुद्ध ३ गोल गर्दै आम्तेक टिमले २ लाख नगद, ट्रफी र मेडल हात पारेको हो ।
खेलको ८ औँ मिनेटमा वडा नम्बर ७ का वर्तमान राईले १ गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटमै आम्तेकका सुसन तामाङले गोल गरेपछि खेल १ बराबरीको स्थितिमा पुगेको थियो । खेलको पहिलो हाफ १–१ गोलको बराबरी अवस्थामा टुङ्गिएको थियो ।
खेलको उत्तराद्र्धको ४८ औँ मिनेटमा भोजपुर ७ का विष्णु भुजेलले १ गोल गरेर विपक्षी टिमभन्दा १ गोलले अघि रहे पनि अन्ततः विजेता बन्न भने सकेन । ६१ औँ मिनेटमा वडा नम्बर ११ का सुुुसन तामाङले नै गोल गरी खेललाई २–२ को बराबरीमा पुर्याए । खेलको अन्तिम समयमा तामाङले नै गोल गर्दै ह्याट्रिक पूरा गर्नुका साथै आफ्नो टिमलाई जीत दिलाए ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा गत १७ गतेबाट सञ्चालन गरिएको प्रतियोगिताबाट भोजपुर युथ एकेडेमीका खेलाडी प्रशान्त राई उदाउँदो खेलाडी घोषित भई नगद ३ हजार हात पारेका छन् ।
उत्कृष्ट डिफेन्स उपविजेता वडा नम्बर ७ का खेलाडी रेमन उदास भए भने उत्कृष्ट मिडफिल्डर विजेता टिमका उमेश कार्की भए । उत्कृष्ट स्ट्राइकर विजेता टिमका सुसन तामाङ घोषित भए । उत्कृष्ट गोलरक्षक वडा नम्बर ११ का रेम्बो चौधरी भएका छन् । उत्कृष्ट खेलाडी वडा नम्बर ७ का विजय भुजेल भएका थिए । जम्मा १७ टिम प्रतिस्पर्धामा उत्रिएको फुटबल सङ्घका जिल्ला अध्यक्ष प्रवीण सुवालले बताए ।
खेलका विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेलगायतले पुरस्कार वितरण गरेका थिए ।