फाइल तस्बिर
धरानः नेपालको सबैभन्दा ठूलो दौड सातौं नेवाः च्यारिटी रन २०७५ आज आयोजना हुँदैछ । यो प्रतियोगितामा १० किलोमिटर दौड पूरा गरेर विजेता छानिने छन् ।
यो प्रतियोगिता विगतमा ८ किलोमिटर हुँदै आएको थियो । ‘आरती स्ट्रिप्स धरान १० के रन, सातौं नेवा च्यारिटी रन २०७५’ नाम दिइएको प्रतियोगिता विगत ७ वर्षदेखि चल्दै आएको हो । च्यारिटी रनमा १२ वर्षभन्दा कम उमेरकालाई भने ३ किलोमिटर दौडाउने तयारी छ । प्रतियोगितामा १२ वर्ष मुनिका धावक धाविका र १३ वर्षदेखि १६ वर्ष उमेर समूहका पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष विजेतालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिनेछ । पुरस्कार महिला र पुरुषलाई छुट्टाछुट्टै प्रदान गरिने बताइएको छ ।
धरान–९ पुतली लाइनबाट बिहान ७ बजे शुरू हुने प्रतियोगिता दुर्गाचोक, बुद्ध चोक, रत्नचोक, मङ्गलबारे, कल्याणचोक, पानी ट्याङ्की, गणेशमान चोक, रङ्गशाला हुँदै जिरो प्वाइन्ट पुग्नेछ ।
त्यसपछि अमरहाट, रेडक्रस भवन, विजयपुर चोक, पिण्डेश्वर मन्दिर, चिनियाँ चोक, पुरानो बजार, देशीलाइन हँुदै भानुचोकमा आएर दौड समापन हुने आयोजकले जनाएको छ । १२ वर्षभन्दा कम उमेर भएकाहरू भने पुतलीलाइनबाट दुर्गाचोक पुगेर फेरि त्यही बाटो फर्कनुपर्नेछ । यस वर्ष वरिष्ठ ओलम्पियन धावक मुकुन्दहरि श्रेष्ठलाई सम्मान गरिने बताइएको छ । अल्ट्रा धाविका मीरा राईलाई सम्मान गरिने रनका अध्यक्ष रमु राईले बताए ।
खुलातर्फका महिला तथा पुरुष विजेताले जनही नगद ४० हजार, दोस्रोले ३० हजार र तेस्रोे हुनेले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्यस्तै, ४० वर्षदेखि माथिको उमेर समूहका भेट्रान दौडका विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
दौड प्रतियोगिताबाट उठेको रकम नेवा एजुकेशन फण्डमा जम्मा हुनेछ । हाल धरान रनद्वारा सञ्चालित एजुकेशन फण्डमा ६ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । फण्डबाट आएको ब्याजले १७ जना विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी पढाइरहेको आयोजकले जानकारी गराएको छ ।
यस पटकको दौड प्रतियोगिताबाट एजुकेशन फण्डको रकममा ६ लाखबाट १० लाख रुपैयाँ पु¥याउने र आउँदो नयाँ शैक्षिक सत्रमा १७ जनाबाट ३० जनालाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य आयोजकको रहेको छ । पत्रकार सम्मेलनमा छात्रवृत्ति पाएका १७ जना विद्यार्थीलाई जाडोमा लगाउने स्वीटर र स्टेशनरी सामानसमेत आयोजकले वितरण गरेको थियो ।