इटहरीः प्रदेशस्तरीय पचरुखी भेट्रान प्रतियोगितामा बिर्तामोड भेट्रान विजयी बनेको छ । इटहरी– ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा आयोजकलाई २–१ गोल अन्तरले हराउँदै बिर्तामोड च्याम्पियन बन्न सफल भएको हो ।

यो सँगै प्रतियोगितामा पहिलो च्याम्पियन बनेको बिर्तामोडले १ लाख १ हजार नगदसहित विभिन्न पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक हरियोले नगद ५१ हजारसहित विभिन्न पुरस्कार प्राप्त गरेको छ ।

फाइनल खेलमा बिर्तामोडका तर्फबाट रमेश गुरुङले २ गोल गरेका थिए भने आयोजकका तर्फबाट डेनी राईले १ गोल फर्काएका थिए । फाइनल खेलको म्यान अफ द म्याच गुरुङ नै घोषित भए ।

खेलमा उच्च गोलकर्ता बिर्तामोडका मित्र बस्नेत भए । उनले नगद ५ हजार १ सय प्राप्त गरे । त्यस्तै उत्कृष्ट मिडफिल्डरमा आयोजकका निर्मल तामाङ, उत्कृष्ट गोल्डकिपर बिर्तामोडका रुपक गुरुङ, बेस्ट डिफेन्स आयोजकका तर्फबाट लक्ष्मी चौधरी घोषित भए । उनीहरूले क्रमश नगद ५ हजार १ सय ट्रफी प्राप्त गरे ।

त्यस्तै, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी आयोजकका रामशरण चौधरी घोषित भए उनले टेलिभिजन सेट प्राप्त गरे । समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे रहेका थिए ।

आयोजक पचरुखी युवा क्लबका अध्यक्ष पीताम्बर पोख्रेलले पहिलो संस्करण भएका हुँदा केही कमजोरी हुन सक्ने र आगामी दिनमा अझै व्यवस्थित रूपमा प्रतियोगिता गर्ने बताए ।