विराटनगरः पाँचौ महिला साफ फुटबल प्रतियोगितामा भाग लिन विभिन्न देशका खेलाडीको टोली विराटनगर आइपुगेको आयोजकले जनाएको छ ।
प्रतियोगिता भोलिदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटानबीच हुनेछ ।
शहीद रङ्गशालामा हुने सो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहेका छन् ।