इलामः पाहुना टोली भारतको युनाइटेड दार्जिलिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब इलाममा जारी माईभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

खेलको शुरुवातबाटै दबाब कायम राखेको पुलिसले छैटौँ मिनेटमा अग्रता कायम ग¥यो । डिबक्स बाहिर पुलिसका खेलाडीलाई गोलरक्षक विनोद क्षेत्रीले डिएरिया बाहिर फाउल गरेपछि पाएको अवसरलाई सौजन्य याक्खा राईले सिधै जाली चुमाए । दोस्रो हाफमा समेत दबाब कामय राख्दै पुलिसले ८१ आँै मिनेटमा अग्रता दोब्बर बनायो । भरत शाहले डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुम्दा पुलिसले अग्रता दोब्बर बनाएको थियो ।

दार्जिलिङका करन राईले सान्त्वना गोल फर्काए । गोलरक्षक रोशन खड्कालाई बिट गराउँदै राईले गोल गरेका थिए । निरन्तर पुलिसको पोष्ट आक्रमण बुनेको दार्जिलिङको प्रहारले सही दिशा लिन नसक्दा क्वाटरफाइनलबाट बाहिरियो । दार्जिलिङका लेन्डुप भुटियाको क्रसलाई करन राईले गोल गर्न सकेनन् । देवान राईले ‘वान भर्सेस वान’को अवस्थामा गोल गर्न सकेनन् । देवानको प्रहार गोलरक्षक खड्काले बचाएका थिए ।

पुलिसले समेत केही राम्रा अवसरलाई गोल गर्न सकेन । पहिलो हाफमा ‘वान भर्सेस वान’को अवस्थामा पुलिसका सन्तोष हेमरनको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पुलिसका सौजन्य याक्खाले खेलको म्यान अफ दि म्याच चुनिँदै नगद १० हजार प्राप्त गरे ।

खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले ५ जना खेलाडी राष्ट्रिय टिमको क्लोज क्याम्पमा रहेका कारण जीत निकाल्न मिहिनेत गर्नुपरेको बताए । जुनियर खेलाडीलाई अब्बल प्रमाणित गर्न अवसरको रूपमा रहेको प्रतियोगितामा अपेक्षा अनुरूप चल्न नसकेको उनले बताए । विपक्षी टिमको फिनिसिङ नहुँदा जीत निस्किएको थापाले बताए ।

यता, दार्जिलिङका प्रशिक्षक साम्देन शेर्पाले दोस्रो हाफअनुसार पहिलो हाफमा खेलाडी चल्न नसक्दा पराजित भएको बताए । उनले भारतमा खेल्ने बल र नेपालको बलको गुणस्तर फरक भएकाले अपेक्षाकृत रूपमा फिनिसिङ निकाल्न नसकिएको बताए । आयोजक माइभ्याली फुटबल क्लबलाई इन्जुरी समयमा १–० गोल अन्तरले पराजित गर्दै दार्जिलिङ क्वाटरफाइनल प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पाको सामना गर्नेछ ।

बुटवलमा सम्पन्न २१ औ संस्करणको तिलोत्तमा गोल्डकपमा पुलिस क्लबसँग दार्जिलिङ २–० गोल अन्तरले पराजित बनेको थियो । पुलिस जारी सिजनमा उत्कृष्ट लयमा रहेको छ । सिजनको पहिलो प्रतियोगिता खप्तड गोल्डकपमा थ्रीस्टारलाई हराउँदै उपाधी जितेको पुलिस क्लब त्यसयताको तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको थियो ।