विराटनगरः विराटनगरमा पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा फुटबलको विकास गरे देशको विकासले नयाँ गति लिने वक्ताहरूले बताएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुदको संस्थागत रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित कार्यक्रममा उनले सरकारले स्थानीय तहबाटै खेलकुदको जग बसाल्ने गरी योजना अघि बढाउने बताए ।

नेपालमा पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको उनको भनाइ थियो । उनले राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकुदको ठूलो भूमिका भएको बताए । अध्यक्ष दाहालले नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने बताए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन वटै सरकारको प्राथमिकतामा खेलकुद रहेको बताए । उनले विराटनगरलाई खेलकुदको राजधानी बनाउने योजनाका साथ अघि बढ्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धि भएको बताए ।
आयोजक अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गर्ने बताए ।