विराटनगरः पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।
भारतका लागि सञ्जु यादवले २ तथा सन्ध्या रङ्गनाथन, इन्दुमती कासिरेतान र रतनबाला देवीले एक÷एक गोल गरेका थिए । माल्दिभ्सका गोलकिपर अमिनाथ लिजाले आत्मघाती गोल गरेकी थिइन् । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो ।
पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरले अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रामक खेल खेलेको थियो । माल्दिभ्सका खेलाडीले रक्षात्मक खेल खेलेका थिए । बिहीबार समूह ‘ए’ मा रहेका बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।