इलामः साफ च्याम्पियनसीपको आफनो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बङ्गलादेशसँग भुटान प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेल नेपालसँग ३–० ले पराजित बनेको भुटान ९ वर्षे साफको इतिहासमा पहिलो जीतको खोजीमा हुनेछ । ‘ड्रागन गल्र्स’को उपमाले परिचित भुटानी टोलीले सन् २०१० यता बङ्गलादेशसँग ३ पटकको सामना गर्दै तिनै पटक पराजित भएको छ ।
पहिलो साफ अघिको मैत्रीपूर्ण खेलमा ७–० ले पराजित बनेको भुटानी टोली साफको पहिलो संस्करणमा ९–० ले पराजित बन्यो । सन् २०१२ को दोस्रो संस्करणमा भने टोली १–० गोलले मात्र पराजित बन्यो । बङ्गलादेश विरुद्ध भुटानले ३ खेलमा कुल १७ गोल बेहोरेको छ ।
साफमा भुटानी टोलीको उत्कृष्ट नतिजाको रूपमा सन् २०१० मा समूह चरणमा श्रीलङ्कासँग १–१ गोलको बराबरी रहेको छ । यता, बङ्गलादेशी टिम साफको गत संस्करणको उपविजेता र २ संस्करणको सेमीफाइनलिष्ट टिम समेत हो । साफको कुल १५ खेलमा ७ जीत, १ बराबरी र ७ खेलमा पराजित बनेको टोली बिहीबारको खेलमा स्पष्ट जीत निकाल्दै सेमीफाइनल पुग्ने रणनीतिमा हुनेछ ।
भुटानविरुद्ध बङ्गलादेशले फराकिलो जीत निकालेको खण्डमा नेपाली टोलीलाई चुनौती थपिनेछ । सन् २०१६ को चौथो साफको समूह बी को अन्तिम खेलमा बङ्गलादेशले भारतलाई बराबरीमा रोक्दा त्यसको घाटा नेपाललाई भएको थियो । गोल अन्तरले दोस्रो भएको भारतले सेमीफाइनलमा समूह ए बाट विजेता बनेको नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा बङ्गलादेशलाई पनि समान ३–१ गोल अन्तरले नै हराएर लगातार चौथो उपाधी जितेको थियो ।