विराटनगरः विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसीपमा भुटान दोस्रो खेलमा पनि पराजित बनेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको आफ्नो समूह चरणको दोस्रो खेलमा भुटान २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको भुटानले दोस्रो हाफको २ मिनेटमै गोल खाएको थियो । बङ्गलादेशकी मनिका चक्माको कर्नर किकलाई मोस्त सिरात जहान मौसुमीले भुटानको जाली चुमाएकी थिइन् ।
यस्तै, खेलको ८५ औं मिनेटमा बङ्गलादेशकी कप्तान सबिना खातुनले अर्को गोल गर्दै नतिजा दोब्बर पारिन् ।
नेपालसँग मङ्गलबारको उदटन खेलमा ३–० गोल अन्तरमा हारेको भुटान आजको नतिजासँगै घर फर्किने भएको छ ।