इटहरीः तेह्रथुम सदरमुकाम म्याङलुङ घर भएका रमेश थापाले कुनै पनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हेर्न पाएका थिएनन् । सङ्घीय राजधानी काठमाडौंमा केही वर्ष बस्दा पनि खेल हेर्न नपाएका थापाले मङ्गलबार भने आफ्नै प्रदेशको अस्थायी राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हेर्न पाए ।
मङ्गलबार विराटनगरको शहीद रङ्गशालामा शुरु भएको पाँचौँ महिला साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसीप हेर्न पुगेका थापा उत्साहित देखिन्थे । विराटनगरकै पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट)का विद्यार्थी थापाले भने, ‘अरू बेला काठमाडौंमा मात्रै हुने अन्तर्राष्ट्रिय प्रतियोगिता प्रदेश १ मा भएको छ । अब खेलकुदमा पनि सङ्घीयता आयो ।’
‘काठमाडौंमा मात्रै सरकार हुँदा उता यस्ता प्रतियोगिता हुन्थे’, विराटनगर स्थानीय सरकार र प्रदेश १ सरकारको आर्थिक सहयोगकै कारणले विराटनगरमा यस्तो ठूलो प्रतियोगिता हुन सकेको भन्दै विद्यार्थी नेता समेत रहेका थापाले थपे, ‘अब काठमाडौं बाहिर पनि सरकार छन् र यस्ता प्रतियोगिता बाहिर पनि हुन थाले ।’
विराटनगरको त्रिमूर्ति चोकका स्थानीय युवाहरू नगिन चौधरी र आकाश राजवंशी पनि विराटनगरमै अन्तर्राष्ट्रिय स्तरको खेल भएकोमा खुशी भएको बताए । मङ्गलबार नेपाल र भुटानबीच भएको प्रतियोगिताको उद्घाटन खेलमा दर्शकदीर्घामा बसेर बोल्दै आकाश राजवंशीले भने, ‘सामान्य प्रतियोगिता र गोल्डकपहरू मात्रै हुने विराटनगरमा सार्क देशका खेलाडीहरू आएर खेल्नु गर्वको कुरा हो ।’
राजवंशीसँगै रहेका साथी नगिन चौधरीले राजवंशीको कुरामा सहमति जनाउँदै थपे, ‘अब महिला साफका मात्रै होइन क्रिकेटका पनि उमेर समूहका सार्कस्तरीय खेलहरू विराटनगरमा गर्नुपर्छ ।’ आफैँ क्रिकेटका स्थानीय खेलाडी रहेका चौधरीले विराटनगरमा फुटबल जत्तिकै क्रिकेटको पनि क्रेज भएको बताए ।
यता, छोरीसँगै महिला साफ च्याम्पियनसीपको उद्घाटन खेल हेर्न आएका विराटनगर–१३ का पारस थापा आफ्नै गृहनगरमा भएको साफ महिला च्याम्पियनसीप हेर्न पाएको भन्दै खुशी देखिए । ‘विराटनगरमै महिला साफ खेल हुनु ठूलो कुरा हो’, थापाले भने, ‘यस अगाडि ४ पटक अरू देशमा भएको यो प्रतियोगिता पहिलोपटक नेपालमा र नेपालको पनि विराटनगरमा हुनु झनै ठूलो कुरा हो ।’
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा नेपाल, भारत, भुटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशका खेलाडी एकै पटक विराटनगरमा भेला भएर खेलकुद क्षेत्रमा उत्साह थपेको थापाले बताए ।
‘विराटनगरमा भएका हाम्रा छोरीहरूलाई यस्ता प्रतियोगिताले खेलप्रति आकर्षण बढाउँछ’, आफ्नी छोरीसँगै उभिएर थापाले भने, ‘तर, दुःखको कुरा चाहिँ दर्शकहरू भने महिलाहरू भन्दा पुरुषहरू नै धेरै आएको देखियो ।’ एन्फाले प्रतियोगिता अवधिभर महिला दर्शकहरू थप ल्याउन केही राम्रा प्याकेजहरू ल्याउनुपर्ने थापाको सुझाव छ ।