इलामः विभागीय टिम एपिएफलाई हराउँदै क्यामरुनी क्लब दाफिन्स इलाममा जारी माइभ्याली गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । खेलको शुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले ३–१ गोल अन्तरले एपीएफलाई हराएको हो ।
दाफिन्सको जीतमा पेटाङ्गाले २ गोल र मेजोभ्केले १ गोल गरे । खेलको १५ औँ मिनेटमा काउन्टरमा मोजभ्केले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए । २१ आँै मिनेटमा पेटाङगाले अग्रता दोब्बर बनाए । एपीएफका सुदीप सिख्रकारलाई छलाउँदै पेटाङ्गाले गोल गरेका थिए । ३७ औँ मिनेटमा एपीएफले अग्रता कम पारेको थियो ।
राजीव लोप्चनको प्रहार बारमा लागेर आएको रिबाउन्ड बललाई जाली चुमाउँदै हरि कार्कीले अग्रता कम पारे पनि जीतका लागि पर्याप्त हुन सकेन । ५७ औँ मिनेटमा मेजोभ्केको कर्नर प्रहारलाई पेटाङ्गाले गोल गरेपछि एपीएफलाई ३–१ ले हराउँदै दाफिन्स सेमीफाइनलमा पुगेको हो । खेलमा एपीएफले आफूले पाएका प्रहारहरूलाई सदुपयोग गर्न सकेन । आधा दर्जन प्रहारहरू क्यामरुनका गोलरक्षक प्रिसो जङ्गाले बचाएका थिए ।
क्यामरुनले समेत राम्रा अवसर सदुपयोग गर्न सकेन । टिना टिनाले पेनाल्टी एरिया नजिकै पाएको अवसरलाई पोष्टको फ्रेममा प्रहार गर्न सकेनन् । मेजोभ्के र पेटाङ्गाले समेत पेनाल्टी एरियामा पाएको अवसरलाई प्रहार गर्न सकेनन् । खेलपछि प्रतिक्रिया दिँदै एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले पहिलो विवादास्पद गोलका कारण पराजित भएको बताए ।
‘गोल नै नभएको गलत निर्णय भएपछि गेम ट्रनिङ भयो । गोल लाइनमै थियो,’ उनले भने, ‘विपक्षी टिमको फिजिकल फिटनेस एडभान्टेज भयो । गेम त फिफ्टी–फिफ्टी नै हो ।’ उनले विपक्षीले भन्दा बढी मौका पाए पनि पोष्टमा प्रहार हुन नसक्दा पराजित भएको बताए ।
‘हामीले पाएका ६ मध्ये ५ वटा मिस्टेक भयो । उनीहरूका ४ मध्ये ३ प्रहार सफल भएपछि हामी हा¥यौँ,’ उनले भने ।
यता, दाफिन्सका टिम मेनेजर आशिक थापामगर खेलाडीले पाएका अवसरको पूर्ण सदुपयोग गरेको बताउँछन् । उनले खेल मैदानका कारण केही अपेक्षाअनुसार खेल्न सहज भएको बताए । गोललाइन टेक्नोलोजी नभएका कारण पहिलो गोल विवादमा आएको थापाले बताए ।
दाफिन्सले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । एपीएफ जारी सिजनमा दाफिन्ससँग तेस्रो पटक पराजित भएको हो । यसअघि २१ औँ तिलोत्तमा गोल्डकप र २१ औ बुढासुब्बा गोल्डकपमा एपीएफ पराजित बनेको थियो । आजको खेलको म्यान अफ दि म्याच दाफिन्सका पेटाङ्गा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टर (केएफटीसी) बीच प्रतिस्पर्धा हुनेछ ।