झापाः  बङ्गलादेशको राजधानी ढाकामा हुने विश्व बुद्धिचाल महासङ्घ फिडेको अफिसियल प्रतियोगिता एशिया जोनल ३ दशमलव २ मा सहभागी जनाउन बिहीबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय आरविटर यज्ञ पन्त, पूर्व नेपाल च्याम्पियन केशव विष्ट र महिला फिडे माष्टर सुजना लोहनी ढाका प्रस्थान गरेका हुन् ।

प्रतियोगितामा बङ्गलादेश, नेपाल, भुटान, श्रीलङ्का पाकिस्तान र माल्दिभ्स गरी ६ वटा देशका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको च्याम्पियन बने १ हजार डलरसहित विश्व कपमा सहभागी जनाउन पाउने बताइएको छ । अफिसियल र खेलाडीको स्वागत तथा सम्मानसहित मेची युमा चेस एकेडेमी मेचीनगरले बिदाइ कार्यक्रम आयोजना गरेको थियो ।

बिदाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापा, ट्राभल सङ्घ झापाका अध्यक्ष निरबहादुर कार्की ‘नेत्र’, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल, महासचिव गंगाप्रसाद कोइराला, नेकपाका युवा नेता तथा बालकृष्ण थापालगायतले खादासहित सफलताको शुभकामना दिँदै व्यक्त गरेका थिए ।

उनीहरूले खेलाडीलाई अनुशाशित रूपमा बलियो आत्मविश्वससहित खेल प्रदर्शन गर्न सुझाव दिएका थिए । मेची युमा चेस एकाडेमी मेचीनगरका अध्यक्ष विश्वविजय घिमिरेले नेपालमा बुद्धिचाल खेलको विगत तथा वर्तमानका बारेमा जानकारी गराएका थिए । महासचिव राजु पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।