इलामः माल्दिभ्सको दक्षिण एसियाली पुरुष फुटबलमा उत्कृष्ट प्रदर्शन रहे पनि महिला फुटबलमा भने नतिजा खासै राम्रो छैन ।

सन् २०१८ को पुरुष साफमा भारतलाई २–१ हराउँदै उपाधी जितेको माल्दिभ्सलाई महिला फुटबलमा भारतले ६–० ले हराएपछि पाँचौँ साफको सेमीफाइनल यात्रा असहज बन्दैछ । पहिलो खेलमा फराकिलो हार बेहोरेको ‘डटर अफ वेभ्स’ उपनामले परिचित माल्दिभ्स विरुद्ध श्रीलङ्का आज खेल्दैछ ।

माल्दिभ्सले दोस्रो खेलमा सहभागिता जनाउँदै गर्दा श्रीलङ्का भने पाँचौँ साफमा पहिलो पटक भिड्दैछ । पछिल्लो नतिजाले श्रीलङ्का विरुद्ध माल्दिभ्स बलियो देखिए पनि अघिल्लो खेलमा पराजित बनेकाले मानिसक रूपमा दबाबमा हुनेछ । ४ पटक आमनेसामने भएका श्रीलङ्का र माल्दिभ्सको नतिजा २–२ जीत रहेको छ । गोल अन्तरको आधारमा श्रीलङ्का अगाडि देखिन्छ ।

सन् २०१० को साफ च्याम्पियनसीपअघिको २ मैत्रीपूर्ण खेल क्रमश २–० र ३–० ले जितेको श्रीलङ्कलाई सन् २०१६ को सागमा २–१ र साफमा ५–२ गोल अन्तरले माल्दिभ्सले हराएपछि समूह चरणबाट बाहिरिएको थियो । श्रीलङ्का सन् २०१२ र २०१४ को सेमीफाइनलिष्ट टिम हो ।

साफको ६ वर्षे इतिहास (सन् २०१०–१६) मा माल्दिभ्सले श्रीलङ्कालाई नै पछि पार्दै गत संस्करणको साफमा पहिलो पटक सेमीफाइनलमा पुगेको थियो । फाइनल पुग्न माल्दिभ्सका लागि बङ्गलादेश बाधक बन्यो ।

आजको खेलमा श्रीलङ्कासँग पराजित भएको खण्डमा माल्दिभ्स समूह चरणबाट बाहिरिनेछ । यदि माल्दिभ्स विजयी भएको खण्डमा सेमीफाइनल पुग्न भारत विरुद्ध श्रीलङ्काले जीत निकाल्नुपर्ने हुन्छ ।